देशभरका कुन कुन राजमार्ग प्रभावित भए ?


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको दिउँसो २ बजेसम्मको अद्यावधिक विवरणअनुसार मेची राजमार्ग र सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशअन्तर्गत निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका–९ फल्लेघरमा खसेको पहिरोले सालझण्डी–ढोरपाटन सडकखण्ड पनि ठप्प भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको उच्च जोखिम रहेकाले उक्त खण्डमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

पहिरो र बाढीका कारण प्रभावित केही सडक भने आंशिक रूपमा खुलेका छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग र लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ पाउदीमा कालीगण्डकी करिडोर एकतर्फी सुचारु भएका छन्। प्रहरीका अनुसार भोजपुरमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

यसैबीच, अवरुद्ध भएका केही राजमार्ग भने पहिरो पन्छाएपछि पूर्ण रूपमा सञ्चालनमा आएका छन् । बागमती प्रदेशको मकवानपुरस्थित बकैया गाउँपालिका–११ घडेपाखा र भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा खसेको पहिरो पन्छाएपछि कान्ति लोकपथ पूर्ण रूपमा सुचारु भएको छ।

त्यसैगरी, कर्णाली प्रदेशको कालिकोटस्थित शुभकालिका गाउँपालिका–१ गगने खोलामा खसेको पहिरो पन्छाएर कर्णाली राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।