मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय तीर्थयात्री


काठमाडौं । पछिल्लो पाँच वर्षमा मुस्ताङमा लेक (उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी) लागेर ५९ जना पर्यटक तथा तीर्थयात्रीको मृत्यु भएको छ।

धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ र दामोदरकुण्ड भ्रमणका क्रममा स्वासप्रश्वासमा समस्या आएपछि उपचारका क्रममा वा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४३ जना विदेशी र १६ जना नेपाली रहेका छन्। विदेशीमध्ये २८ पुरुष र १५ महिला तथा नेपालीमध्ये १२ पुरुष र ४ महिला छन्।

आर्थिक वर्षअनुसार २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १४ जना, २०८१/८२ मा १३ जना र चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनका अनुसार मृत्यु हुने विदेशीमध्ये अधिकांश भारतीय तीर्थयात्री रहेका छन्। दामोदरकुण्ड जाने केहीबाहेक अधिकांश तीर्थयात्री मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने वा फर्किने क्रममा लेक लागेर प्रभावित भएका छन्।

६४ देखि ८१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, दीर्घरोगी तथा मौसमी रोगबाट पीडित व्यक्तिहरू बढी जोखिममा पर्ने गरेको प्रहरीले जनाएको छ। यद्यपि समयमै उपचार पाएर निको भएर फर्किने बिरामीको संख्या पनि उल्लेख्य रहेको छ।

समुद्री सतहबाट करिब २,५०० मिटर वा त्यसभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा घट्ने अवस्थालाई ‘लेक लाग्नु’ भनिन्छ।

प्रदेश अस्पताल जोमसोमकी मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एकैपटक धेरै उचाइमा पुग्दा लेक लाग्ने जोखिम बढी हुन्छ।

उनले दीर्घरोगीले उच्च हिमाली क्षेत्रमा जानुअघि स्वास्थ्य परीक्षण गराउनुपर्ने र असहज महसुस भए तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जानुपर्ने सुझाव दिइन्।

हाल प्रदेश अस्पताल जोमसोम, मुक्तिनाथस्थित हाइ अल्टिच्युड उपचार केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थाहरूमा लेक लागेका बिरामीका लागि प्राथमिक उपचार, आवश्यक औषधि र उपकरणको व्यवस्था गरिएको छ।

सडक पहुँच विस्तारसँगै केही ट्राभल एजेन्सीले छोटो प्याकेजमा एकै दिन लोमान्थाङ वा कोरला नाका पुर्‍याउने प्रतिस्पर्धा गर्दा पनि पर्यटकको स्वास्थ्यमा जोखिम बढेको सरोकारवालाको भनाइ छ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले पर्यटकको हेलचेक्र्याइँ र पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले लेक लाग्ने समस्या न्यूनीकरणका प्रयास प्रभावित भएको बताइन्।

चिकित्सकका अनुसार टाउको दुख्ने, अत्यधिक थकान हुने, रिङ्टा लाग्ने, हिँड्न गाह्रो हुने, श्वास फेर्न अप्ठ्यारो हुने, वाकवाकी लाग्ने वा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल थप उचाइमा जान रोक्नुपर्ने, आराम गर्नुपर्ने, प्रशस्त पानी वा झोलिलो खानेकुरा सेवन गर्नुपर्ने र सकेसम्म तल्लो क्षेत्रमा झरेर स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने हुन्छ।

समयमै उपचार गरे लेक लागेका अधिकांश बिरामी निको हुने भए पनि लक्षण बेवास्ता गर्दै उचाइमा नै बसिरहे वा अझ माथि जाने प्रयास गरे मस्तिष्क वा फोक्सो सुन्निने जटिल अवस्था सिर्जना हुन सक्ने चिकित्सकको चेतावनी छ।

लेक लागेर हुने मृत्यु न्यूनीकरणका लागि बेनी–जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङ प्रवेशद्वार घाँसामा सचेतनामूलक सूचना राख्ने, मुक्तिनाथ मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्य निरन्तर हुँदै आएको छ।