धनुषामा एम्बुलेन्ससँग उपमेयर सवार गाडी ठोक्कियो, उपमेयर भुजेलसहित ८ जना घाइते


धनुषा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार सवारी दुर्घटना भएको छ ।

धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा उपमेयरसहित ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ६.२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको उपमेयर सवार गाडी एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र उपमेयरको गाडीमा सवार ३ जना गरी कुल ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा उपमेयर विद्दा भुजेल, उनका चालक र परिवारका सदस्यका साथै एम्बुलेन्स चालक र त्यसमा सवार बिरामी एवं आफन्त रहेका छन् ।

प्रहरीका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा परी एम्बुलेन्सतर्फ मिथिला नगरपालिका १ का चालक दिपेन्द्रकुमार महतो, गौशाला नगरपालिका ५ का बसन्तकुमार सिंह, सोहि स्थानका रेणुकुमारी महतो, राजु देवी र लक्ष्मी महतो घाइते भएका थिए ।

यस्तै उपमेयर भुजेल सवार रहेको गाडीतर्फ उपमेयर भुजेल आफै, चालक बद्री भुजेल र धनुषाधाम ८ का भीमराज भुजेल घाइते भएका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । तीब्र गतिका कारण वा अन्य कुनै प्राविधिक कारणले दुर्घटना भएको हो भन्नेबारे प्रहरीले अध्ययन गरिरहेको छ ।