किन गरे व्यवसायिक घरानाका राउतले आत्मदाहको प्रयास ?, अहिले पनि उनको अवस्था चिन्ताजनक

7.5k
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार आत्मदाहको प्रयास गरेका ५० वर्षीय व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ ।

व्यवसाय धराशायी भएपछि सिर्जित मानसिक तनावका कारण उनले आत्मघाती कदम चालेको प्रारम्भिक विवरणहरूले देखाएका छन्।

राउतको हाल महाबौद्धस्थित ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ। राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार उनको अझै होस खुलेको छैन। परिवारले थप उपचारका लागि उनलाई एयर एम्बुलेन्स मार्फत भारत लैजान चाहे पनि स्वास्थ्यको जटिलताका कारण चिकित्सकहरूले अनुमति दिएका छैनन्।

उनले केही समयअघि मात्रै भारतमा नशाको उपचार गराएर फर्किएका थिए, जसका कारण उनलाई हिँडडुलमा समेत समस्या (खुट्टा खोच्याउने) भइरहेको थियो।

सिराहाको लाहान स्थायी ठेगाना भई हाल बुद्धनगरमा बस्दै आएका राउत ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ का सञ्चालक हुन्।

उनले नदी किनारामा प्रयोग हुने ग्याभिन तार जालीको उत्पादन र चीनबाट फ्रिज, पंखाजस्ता होम अपिलियन्स सामान आयात गर्ने व्यवसाय गर्दै आएका थिए।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यवसायमा आएको गिरावटका कारण उनी गम्भीर तनावमा थिए। व्यवसाय व्यवस्थापनका लागि उनले ललितपुरको भैसेपाटीमा रहेको जग्गा बिक्री गर्न खोजेका थिए, तर विभिन्न कारणले जग्गा बिक्री हुन नसकेपछि उनी थप निराश बनेका थिए।

यसअघि प्रहरीले छोरासँगको विवादका कारण आत्मदाह प्रयास गरेको उल्लेख गरे पनि परिवार र राउत क्षेत्री सेवा समाजले त्यसको खण्डन गरेका छन्।

सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपेर उनले यो कदम चालेका हुन्। उनले पारिवारिक कलह नभई व्यवसायिक संकट र स्वास्थ्य समस्या नै मुख्य कारण रहेको बताएका छन्।

राउत व्यवसायका अतिरिक्त सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए। उनी राउत क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन्। बुद्धनगरस्थित बुद्ध विहार नजिकै रहेको आफ्नै घरको कम्पाउण्डभित्र उनले आफैंलाई आगो लगाएका थिए।