
काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण वर्षा र प्राकृतिक विपद्को जोखिम बढेको छ ।
अविरल वर्षाका कारण बिपी राजमार्गसहित कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम देखिएपछि सरकारले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
गएराति कालीकोटको गगनेखोलामा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार आज बिहान ३ बजेदेखि नै पहिरो हटाउने काम भइरहेको छ ।
सडक खुलाउन सुर्खेतस्थित सडक डिभिजनसँग समन्वय भइरहेको छ । वर्षायाममा सडकको अवस्था चुनौतीपूर्ण हुने भएकाले रातिको समयमा यात्रा नगर्न र सावधानी अपनाउन कार्यालयले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान बुलेटिन जारी गर्दै काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) र काभ्रे आसपास भएर बहने स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
यस्तै, नुवाकोट, ताप्लेजुङ, कास्की, चितवन, बाँके, कैलाली र कञ्चनपुरसहित देशका अन्य ३१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ ।
यद्यपि, कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठुला नदीहरूको बहाव भने हाललाई सतर्कता तहभन्दा तलै रहेको छ । आगामी दुई दिनसम्म सातै प्रदेशका नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणी भू-भाग नजिक रहेकाले आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । हिमाली भू(भागमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकाले पहाडी तथा तराई क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ ।
विपद् हटलाइन ‘१२३४’ अब देशभर
विपद्का घटनामा तत्काल उद्धार र सूचना आदानप्रदान गर्न गृह मन्त्रालयले टोल-फ्री नम्बर १२३४ लाई देशभरका ७७ वटै जिल्लामा विस्तार गरेको छ । यसअघि सञ्चालनमा रहेको ‘११४९’ लाई रूपान्तरण गरी नयाँ नम्बर सञ्चालनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाबाट फोन गर्दा सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा लाग्नेछ भने अन्य जिल्लाबाट फोन गर्दा सम्बन्धित जिल्लाकै आपत्कालीन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले सबै जिल्लाका केन्द्रहरू २४सै घण्टा खुला रहने जानकारी दिँदै विपद्को समयमा सरकारी सूचनाको पालना गर्न र आवश्यक परेमा तुरुन्त १२३४ मा सम्पर्क गर्न नागरिकहरूलाई अपिल गरेको छ ।






प्रतिक्रिया