सुशासनको नाममा नागरिकलाई सास्ती नै सास्ती र सरकारलाई उन्मुक्ति हुनुहुँदैन, लक्षण राम्रो छैनः अर्याल

140
Shares

काठमाडौं । पूर्व–गृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्यको सफल सञ्चालनका लागि सरकार स्वयंले कानुनी शासनको मर्म बुझेर नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले अहिले पनि नागरिकसँग सहकार्य गर्नेभन्दा प्रतिद्वन्द्विता बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्व र अनिष्टको दुष्चक्रतर्फ धकेल्न सक्ने भएकाले सरकार सचेत हुनुपर्ने बताए ।

‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसंग सहकार्य गर्नु पर्दछ । आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ । फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्,’ अर्यालले भनेका छन्, ‘कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ ।’

उनले सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनुपर्ने बताएका छन् ।

‘स्पष्ट छ कि, सुशासनको मेरूदण्ड कानुनी शासन हो । तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुँदैन,’ उनले भनेका छन्, ‘अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन् ।’