कसरी चीनले अमेरिकी डलरको साम्राज्यलाई चुपचाप चुनौती दिँदैछ ?

0
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रमा एउटा भनाइ छ । ‘कुनै पनि महाशक्तिलाई हराउन सधैं बम र मिसाइलको आवश्यकता पर्दैन, कहिलेकाहीँ उसको पैसाको स्रोत सुकाइदिए पुग्छ ।’

वर्तमान समयमा चीनले अमेरिकाविरुद्ध ठ्याक्कै यही रणनीति अपनाइरहेको देखिन्छ । चीनले अमेरिकालाई युद्धमैदानमा ललकार्नुको सट्टा उसलाई आर्थिक रूपमा एक्लो बनाउने बाटो रोजेको छ ।

हालैका केही घटनाक्रमले अमेरिकाको आर्थिक जग हल्लिरहेको संकेत गरेका छन् । विश्वकै धनी व्यक्ति इलोन मस्कले केही समयअघि एउटा गम्भीर खुलासा गरे । उनले भने, ‘अमेरिकाले तिर्नुपर्ने ऋणको ब्याज अब उसको रक्षा बजेटभन्दा पनि बढी भइसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटहरूले यो आर्थिक खाडल भर्न सकेनन् भने हाम्रो अन्त्य निश्चित छ ।’

मस्कको यो भनाइ कुनै काल्पनिक डर मात्र होइन । अमेरिकाको वार्षिक सैन्य बजेट ९४७ अर्ब डलर छ तर उसले लिने ऋणको ब्याज मात्रै प्रतिवर्ष १० खर्ब डलर नाघिसकेको छ । इतिहासमा पहिलोपटक अमेरिकाले आफ्नो सेनामा गर्ने खर्चभन्दा बढी खर्च ऋणको ब्याज तिर्नमा गरिरहेको छ ।

अमेरिकी सरकारले संकलन गर्ने प्रत्येक चार डलर करमध्ये एक डलर सिधै ब्याज तिर्नमा खर्च हुन्छ जसले देशको विकास र पूर्वाधारमा लगानी गर्ने क्षमतालाई खुम्च्याइदिएको छ ।

अमेरिका ऋणको ब्याजले थिचिरहेका बेला उसको सबैभन्दा ठूलो ऋणदातामध्येको एक चीनले भने आफ्नो रणनीति बदलिसकेको छ । चीनले लगातार १९ महिनादेखि आफ्नो ढुकुटीमा सुन थपिरहेको छ । हालै मात्र चीनको केन्द्रीय बैंकले थप १० टन सुन खरिद गरेको छ ।

रोचक कुरा के छ भने जब विश्वका अन्य देशहरू सुन बेचिरहेका थिए, चीनले भने सस्तो मूल्यको फाइदा उठाउँदै सन् २०२४ को डिसेम्बरयताकै सबैभन्दा बढी सुन खरिद गर्यो ।

चीनको यो कदमको पछाडि एउटा गहिरो सन्देश छ । उसले सन् २००८ मा १३ खर्ब डलरको अमेरिकी ऋणपत्र होल्ड गरेको थियो जुन अहिले घटेर ६८२ अर्ब डलरमा खुम्चिएको छ । चीनले चुपचाप अमेरिकी ऋणपत्र बेच्दै त्यसको सट्टा सुन जम्मा गरिरहेको छ ।

चीनको यो निर्णयका पछाडि सन् २०२२ को फेब्रुअरी महिनाको एउटा पाठ लुकेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसको ३०० अर्ब डलरको वैदेशिक मुद्रा सञ्चिति एकै रातमा रोक्का गरिदिए । यसले विश्वभरका केन्द्रीय बैंकहरूलाई एउटा कुरा प्रस्ट पारिदियो— ‘अर्काको कागज (डलर) राख्नु भनेको अर्काकै दयामा बाँच्नु हो ।’

यही डरका कारण चीनले आफ्नो सम्पत्ति अमेरिकी नियन्त्रणमा रहने डलरबाट हटाएर आफ्नै ढुकुटीमा रहने सुनमा परिणत गरिरहेको छ । यसका साथै चीनले साउदी अरबको तेल पहिलोपटक युआनमा खरिद गर्न थालेको छ, ब्रिक्स राष्ट्रहरूसँग स्थानीय मुद्रामा व्यापार सुरु गरेको छ र आफ्नै अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली विकास गरेको छ । डलरमाथिको निर्भरता जति कम हुँदै जान्छ, अमेरिकी ऋणपत्रको माग पनि उति नै घट्दै जान्छ ।

अमेरिकाको ११ वटा विमानवाहक जहाज र विश्वभरका ७५० सैन्य अखडाहरूको वास्तविक शक्ति उसको तेल होइन, बरु विश्वले किन्ने उसको ऋणपत्र हो । जब विश्वले अमेरिकी ऋणपत्र किन्न छाड्छ, अमेरिकाले आफ्नो विशाल सेनालाई पाल्ने पैसा पाउँदैन ।

चीनले अमेरिकालाई समुद्रमा हराउन नसकिने कुरा स्वीकार गरिसकेको छ, त्यसैले उसले त्यो सेनालाई पाल्ने पैसाको स्रोत नै बन्द गरिदिने रणनीति लिएको छ ।

यो एउटा यस्तो प्रहार हो, जसको विरुद्धमा न त मिसाइल सिल्डले काम गर्छ, न त विमानवाहक जहाजले । कसैले तपाईंको सामान किन्न छाड्छ वा तपाईंलाई ऋण दिन बन्द गर्छ भने तपाईं उसलाई गोली हान्न सक्नुहुन्न । चीनको यो मौन फिर्ती अमेरिकाका लागि सबैभन्दा ठूलो टाउकोदुखाइ बनेको छ ।

प्रख्यात अर्थशास्त्री रे डलियोले चेतावनी दिएका छन्, ‘जब महाशक्तिहरू अत्यधिक ऋणी हुन्छन् र उनीहरूका ऋणदाताहरूको विश्वास गुम्न थाल्छ, तब उनीहरूको मुद्रा र साम्राज्यको पतन सुरु हुन्छ ।’ सन् १९१२ मा जेपी मोर्गनले भनेका थिए, ‘सुन पैसा हो, बाँकी सबै क्रेडिट (ऋण) मात्र हो ।’

आज चीनले मोर्गनको त्यही भनाइलाई व्यवहारमा उतारिरहेको छ । अमेरिकाको भविष्य उसको आर्टिफिसियल इन्टेलिजेन्सले काम गर्छ कि गर्दैन भन्ने सम्भावनामा टिकेको छ, तर चीनको रणनीति भने आफ्नै ढुकुटीमा रहेको सुनको खानीमा टिकेको छ ।

चीनले यो खेल निकै सावधानीपूर्वक खेलिरहेको छ । उसले एकैपटक सबै ऋणपत्र बेच्न सक्दैन किनकि त्यसले उसको आफ्नै अर्थतन्त्रलाई पनि असर गर्छ । तर, उसले १० वर्षको योजना बनाएर बिस्तारै डलरको जालोबाट आफूलाई बाहिर निकालिरहेको छ ।

युद्धविना नै महाशक्तिलाई कमजोर बनाउने यो आर्थिक दाउमा चीनले अहिलेका लागि सफलता पाइरहेको देखिन्छ ।