४९ अर्ब रुपैयाँ घूस लिने चीनका पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय

266
Shares

एजेन्सी । पूर्वी चीनको एक अदालतले ३० वर्षको अवधिमा २.२ अर्ब युआन (४९ अर्ब रुपैयाँ) भन्दा बढी घुस लिएको अभियोगमा एक पूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् १९९३ देखि २०२३ सम्म नान्किङ शहरका विभिन्न पदमा कार्यरत याङ यूओलिनलाई भ्रष्टाचार, पदको दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर गरिएको छ । उनको अवैध आम्दानी हालका वर्षहरूमा सबैभन्दा बढीमध्ये एक रहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार, ६९ वर्षीय याङले पैसा र बहुमूल्य वस्तुको बदलामा अरूलाई इन्जिनियरिङ सम्झौता, जग्गा हस्तान्तरण र वित्तीय सहायता प्राप्त गर्न मद्दत गरी आफ्नो पदको दुरुपयोग गरेका थिए ।

राष्ट्रपति सी चिनपिङको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत याङमाथि अनुसन्धान गरिएको थियो । यस अभियानले सैन्य तह र उच्च स्तरीय बैंकिङ लगायतका क्षेत्रहरूमा व्यापक छानबिन गरिरहेको छ ।

आफ्नो करियरको धेरै समय नान्किङको आर्थिक र प्राविधिक विकासमा बिताएका याङले अत्यन्त गम्भीर प्रकृतिका अपराध गरेको र राज्य तथा जनताको हितमा असाधारण रूपमा ठूलो क्षति पुर्याएको साङ्चाउ शहरको एक अदालतले सोमबार बताएको छ । सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचार विरोधी अभियानका धेरै लहरहरू सुरु गरेका छन् जसलाई आलोचकहरूले राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमको रूपमा पनि प्रयोग गरिएको बताउँछन् ।

आर्थिक अपराधका लागि मृत्युदण्डको सजाय दुर्लभ भए तापनि कहिलेकाहीँ यस्तो सजाय दिइने गरिन्छ, विशेषगरी मुद्दा १ अर्ब युआनभन्दा बढीको रकमसँग सम्बन्धित छ भने ।

उदाहरणका लागि, १० वर्षको अवधिमा १.८ अर्ब युआन घुस लिएको अभियोगमा पूर्व वित्त प्रमुख लाई सियाओमिनलाई सन् २०२१ मा मृत्युदण्ड दिइएको थियो । सन् २०२४ मा इन्नर मंगोलियाका पूर्व अधिकारी ली च्यानपिङलाई कुल ३ अर्ब युआनभन्दा बढी भ्रष्टाचार र घूस लिएको अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

धेरै अन्य मुद्दाहरूमा अदालतले जेल सजाय वा निलम्बित मृत्युदण्ड सुनाउने गरेको छ जुन तोकिएको समयपछि आजीवन कारावासमा परिणत हुन्छ । केही मुद्दाहरूमा दोषी व्यक्तिहरूले अन्य अपराधीहरूको बारेमा जानकारी दिएका छन् भने त्यस्ता अवस्थामा अदालतले सजाय घटाएको पनि छ ।

तर, याङले अधिकारीहरूलाई यस्तै सहयोग प्रदान गरे तापनि उनको अपराध धेरै गम्भीर हुनाले उनको सहयोग सजायमा नरम हुन पर्याप्त थिएन भनी साङ्चाउ अदालतले बताएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार, याङले आफ्नो दोष स्वीकार गरेका छन् र आफ्नो अन्तिम बयानमा पश्चात्ताप व्यक्त गरेका छन् ।