
विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी रिहा भएको झण्डै चार वर्षपछि पनि मोरङ कारागारका तत्कालीन चौकीदार अभिषेक गिरीले कारागारभित्र सिन्डिकेट कायमै गरी रजगज गर्दै आएको पुष्टि भएको छ ।
२०७९ चैत ५ गते कारागारबाट छुटेपछि पनि गिरीले कारागारमा रहेका झण्डै १२ सय कैदीबन्दीले राज्यबाट पाउने भत्ता, उनीहरूले कारागारभित्र विभिन्न उद्यम गरी आर्जन गरेको रकम, रासनवापत बचतको रकम कैदीबन्दीबाट जबर्जस्ती असुली गर्दै आएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए ।
गिरी विराटनगरमा गुन्डा नाइकेको नामले चिनिन्छन् । शरीर बन्धक तथा अपहरण मुद्दामा १० वर्ष कारागारमा हुँदा गिरी राजनीतिक पहुँचमा लामो समय मोरङ कारागारको चौकीदार थिए । उनलाई कारागार विभागले पटक-पटक मोरङबाट सरुवा गरे पनि पहुँचका आधारमा मोरङ कारागारमै ल्याएर चौकीदार बनाइन्थ्यो ।
कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आए पनि उनीमाथि तत्कालीन प्रहरी प्रशासनले औँलो ठड्याएको थिएन । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्दै कैदीबन्दीको श्रमशोषण मात्र नभएर आतंक मच्चाउँदै आएको पुष्टि भएको एसपी कटुवालको दाबी छ ।
विराटनगरको देवकोटा चोकका गिरी यसअघि मोरङमै रहँदा कारागारका चौकीदार थिए । त्यसबेला उनले कैदीबन्दीलाई यातना दिएको र भित्रबाटै असुली र फिरौती धन्दा चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरेको थियो ।
तर, २०७८ असोजमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको एकल जोडबलमा गिरीलाई पुनः मोरङ कारागार ल्याएर चौकीदार बनाउँदा कारागार अशान्त बनेको थियो । त्यसबेला गिरीलाई कारागार प्रशासनले भित्र छिराउन नसकेपछि उनलाई रातारात सप्तरी कारागार पुर्याइएको थियो ।
गिरी विरोधी कैदी नवीन राईलाई झुम्का कारागार सरुवा गरेर गिरी नजिकका किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको थियो । त्यसपछि पनि कारागारभित्र झडप हुँदा तत्कालीन चौकीदार गुरुङसहित १४ जना घाइते भए । झडपपछि कारागार प्रशासनले गुरुङसहित १४ कैदीबन्दीलाई झुम्का र झापा कारागारमा सरुवा गरेर घटनालाई साम्य बनाएपछि गिरीलाई मोरङ कारागार ल्याएर चौकीदार बनाएको थियो ।
२०६५ सालमा विराटनगरका करण यादवको हत्या अभियोगमा पक्राउ परेर कारागार चलान भएका गिरीले २०६९ मा सफाइ पाएका थिए । २०७० सालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी अच्युतप्रसाद रेग्मीलाई ‘हनी–ट्र्याप’मा पारेर बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा १० वर्ष कैद सजाय पाएका गिरी २०७९ चैत ५ गते मोरङ कारागारबाट रिहा भएका थिए । रिहा हुँदा उनी मोरङ कारागारका चौकीदार थिए ।
मोरङ कारागारको गेटबाट बाहिरिएको झण्डै चार वर्ष भइसक्दा पनि गिरीको बैंक खातामा कैदीबन्दीले बुनेको मुढा र गलैँचा बिक्रीको लाखौँ रुपैयाँ मात्र नभएर राज्यले वितरण गर्ने सेवा सुविधावापतको रकमसमेत जम्मा हुँदै आएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कैद भुक्तान गरेर निस्किएका गिरीले कारागारभित्र ‘सिन्डिकेट’ खडा गरेर त्यहाँ हुने हरेक उत्पादनको मुख्य हिस्सा गिरीकै बैंक खातामा पुग्ने गरेको प्रहरीले पुष्टि गरेको छ ।
मोरङ कारागारमा हाल १ हजार १९९ कैदीबन्दी छन् । तीमध्ये ५ सय जनाले मुढा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूको उत्पादन काठमाडौं र चितवनमा पुग्ने गरेको र ती सामान बिक्री भएर आउने रकम व्यापारीले कैदीबन्दीलाई नभई गिरीको व्यक्तिगत बैंक खातामा जम्मा गर्ने गरेको पुष्टि भएको एसपी कटुवालले बताए ।
एसपी कटुवालका अनुसार, पछिल्लो समय चितवन र काठमाडौंका व्यापारीबाट मुढा र गलैँचा बिक्रीवापतको ७ लाख रुपैयाँ गिरीको खातामा जम्मा भएको तथ्य खुलेको छ । कैदमुक्त भएको यति लामो समय भइसक्दा पनि कारागारको उत्पादन बिक्रीवापतको रकम कारागार बाहिर रहेका व्यक्तिको खातामा जम्मा हुनु संगठित अपराधको पराकाष्ठा भएको एसपी कटुवालको भनाइ छ ।
यसअघि पनि कैदीबन्दीले उत्पादन गरेका मुढा र गलैँचा बिक्रीवापतको रकम पटक–पटक यसरी नै लाखौं रकम गिरीको खातामा जम्मा भएको देखिएको र यसबारे थप विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
कैदीबन्दीलाई राज्यले दिएको भत्ता हराएपछि खुल्यो रहस्य
गिरीको यस्तो अवैध असुली धन्दाको रहस्य कैदीबन्दीलाई सरकारले वितरण गर्ने ‘गर्मी भत्ता’ वितरण गरेलगत्तै कैदीबन्दीको हातमा परेको भत्ता गिरीको हातमा पुगेपछि सार्वजनिक भएको हो । गत असार १२ गते शुक्रबार मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई राज्यले जनही २५ सयका दरले १३ लाख ६० हजार रुपैयाँ गर्मी भत्ता वितरण गरेको थियो ।
रकम वितरण भएको केही घण्टाभित्रै उक्त रकम गिरीका सहयोगी र कारागारका केही नाइकेहरूले जबर्जस्ती संकलन गरेर गिरीसम्म पुर्याएको सर्वत्र चर्चा फैलियो ।
प्रहरीले त्यही चर्चाका आधारमा असार १३ गते देवकोटा चोक दक्षिण विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा गिरीको यो रहस्य सार्वजनिक भएको हो ।
एसपी कटुवालले कैदीबन्दीलाई राज्यले वितरण गरेको गर्मी भत्तावापतको रकम कारागारका सहयोगी कर्मचारीदेखि तरकारी आपूर्तिकर्ता विजय कामत र दीपक कार्कीले कैदीबन्दीबाट संकलन गरेर गिरीसमक्ष पुर्याएको अनुसन्धानबाट पुष्टि भएको बताएका छन् । उनीहरू पनि हाल प्रहरी नियन्त्रणमा छन् ।
गिरी चौकीदार रहँदा मोरङ कारागारको १३ नम्बर कोठालाई ‘यातना गृह’ (टर्चर सेन्टर) को रूपमा प्रयोग गरेर कैदीबन्दीबाट रकम असुली गर्ने गरेको पनि पुष्टि भएको प्रहरीले बताएको छ ।
नयाँ आउने कैदीबन्दीको आर्थिक अवस्था हेरेर १३ नम्बर कोठामा राखेर यातना दिने र उनीहरूका आफन्तसँग ‘सलामी’ को नाममा मोटो रकम असुल्ने गरेको पुष्टि भएको एसपी कटुवालले बताए ।
घरायसी आर्थिक अवस्था राम्रो भएको परिवारका थुनुवा आउनेबित्तिकै १३ नम्बर कोठामा लगेर यातना दिइन्थ्यो । प्रहरीका अनुसार त्यहाँबाट सुरक्षित कोठामा सर्नका लागि गिरीलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउनुपर्ने कैदीबन्दीको बाध्यता रहेको पनि अनुसन्धानबाट खुलेको छ । ‘हरेक महिना घरबाट पैसा मगाउन लगाइन्थ्यो, नदिए कुटपिट गरेर भए पनि रकम असुली गरिँदै आएको रहेछ,’ एसपी कटुवालले भने ।
गिरीले कारागारभित्र फोन सेवा र पसलमा समेत एकाधिकार जमाएका थिए । बाहिरका पसलमा भन्दा दोब्बर बढी मूल्यमा सामान बेच्ने र कैदीबन्दीले आफन्तसँग कुरा गर्दा प्रतिमिनेट ७ रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । प्रहरीका अनुसार, फोन कलबाट मात्रै गिरीले वार्षिक लाखौं रुपैयाँ असुली गर्ने गरेको प्रशासनको अभिलेखमा देखिन्छ । नयाँ लुगा भित्र छिराउनसमेत प्रतिगोटा ३ सय रुपैयाँसम्म गिरीलाई शुल्क बुझाउनुपर्ने बाध्यता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
गिरीले कारागारबाट असुली गरेको रकम मिटरब्याजमा लगाएर ऋणको चारगुणा बढी रकम असुली गर्दै आएको पनि अनुसन्धानबाट खुलेको एसपी कटुवालले बताए । त्यसबाहेक कटहरीको एक पेट्रोल पम्पसहित विराटनगरमा चल्ने २०० भन्दा बढी सिटी सफारी, २५ वटा टिप्पर र दुई वटा क्रसर उद्योगमा गिरीको अवैध कमाइ लगानी रहेको प्रहरीको दाबी छ ।
२०७९ चैत ५ गते कारागारबाट छुटेपछि गिरीले ‘गिरी फाउन्डेसन’ स्थापना गरेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेर समाजसेवीका रूपमा आफूलाई प्रचार गर्दै विभिन्न स्थानमा राहत बाँड्ने र सामाजिक गतिविधिको आवरणमा आफ्नो आपराधिक गतिविधि र अवैध आर्जनलाई वैधता दिने प्रयास गरेको प्रहरीको बुझाइ छ ।
त्यसोत गिरी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसको प्रचारमा खटिएका थिए । त्यसक्रममा उनी मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डरका रूपमा खटिएका थिए ।
जेलबाट निस्किएपछि गिरीले विराटनगरका उद्योगी र व्यवसायीलाई धम्क्याएर रकम असुल्ने र ‘मिटरब्याज’ को धन्दा चलाइरहेको उजुरीसमेत प्रहरीमा पुगेको छ ।
गिरी र उनका परिवार वा नातेदारको नाममा रहेको सम्पत्तिको स्रोत कारागारभित्रको अवैध असुली नै भएको आशंकामा प्रहरीले अहिले सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान थालेको छ ।
त्यसका लागि प्रहरीले बैंक, बिमा कम्पनी, मालपोत र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेख्दै गिरी र उनको परिवारका नाममा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण मागेको छ ।
यादव हत्या प्रकरणमा सफाइ पाएपछि पनि गिरीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । तर, राजनीतिक पहुँचका कारण अनुसन्धान रिपोर्ट बाहिर नल्याई त्यत्तिकै राफसाफ गरिएको थियो ।
अभिषेक गिरीको आपराधिक इतिहास झण्डै दुई दशक लामो छ । सुरुमा गिरीले एमाले, अहिलेको नेकपा र कांग्रेसका प्रभावशाली(डन) स्थानीय युवा नेताको सामूहिक मोर्चाबाट आपराधिक गतिविधि सुरु गरेका हुन् ।
यो समूह २०६५ सालमा विराटनगरका करण यादवको हत्यापछि छिन्नभिन्न बन्यो । यादवको हत्याको अभियोग गिरीलाई लाग्यो । तर, उनले २०६९ मा सफाइ पाएका थिए । त्यसबेला ती युवा नेताले बाहिरै रहेर आफ्नो गतिविधिलाई कायमै राखेका थिए । हाल पनि उनीहरू राजनीतिमा सक्रिय छन् र उनीहरूसँग गिरीको सम्बन्ध सुध्रिएको छ ।
त्यसैबेला गिरी भने २०७० सालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी अच्युतप्रसाद रेग्मीलाई ‘हनी–ट्र्याप’मा पारेर बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा पक्राउ परे र १० वर्ष कैद सजाय पाएर कारागार चलान भएका थिए । गिरीलाई २०६६ सालमा पर्शुराम बस्नेतमाथि गोली प्रहार गरेको घटनाको अभियोग पनि लागेको थियो । तर, बस्नेतलाई उनकै सहयोगीले उक्त गोली प्रहार गरेको पुष्टि भएको थियो ।






प्रतिक्रिया