आईपीओ ल्याउने तयारी रहेको ह्याम्स हस्पिटलले ९ महिनामा गर्‍यो साढे १ अर्ब आम्दानी


काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी रहेको हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स)ले चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे १ अर्ब रुपैयाँको आम्दानी गरेको छ । हस्पिटलले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ४२ करोड २० लाख रुपैयाँको आम्दानी गरेको हो ।

हस्पिटलले सन् २०२५ मा १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हस्पिटलअनुसार गत आवको ९ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५ प्रतिशतले वृद्धि भएको छ । गत आवमा १२ प्रतिशतले वृद्धि भएको थियो ।

सन् १९९८ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । धुम्बराहीमा रहेको हस्पिटलले एक सय शय्याको सुविधाका साथ स्वास्थ्य सेवा दिँदै आएको छ ।

हस्पिटलले हालै प्रवद्र्धकहरुबाट नयाँ इक्विटी लगानी प्राप्त गरेको छ । हस्पिटलअनुसार गत आव र चालु आवको ९ महिनाको अवधिमा ९ करोड ९० लाख रुपैयाँ बराबरको इक्विटी तथा २५ करोड १० लाख रुपैयाँ बराबरको प्रिमियम सेयर प्राप्त गरेका छन्।

हस्पिटलको सञ्चालन नाफा मार्जिन तुलनात्मक रुपमा स्थिर रहेको तथा कर्जाको ब्याजदर घट्दै जानुले ऋणभुक्तानी क्षमता सूचकहरुलाई सहयोग पुगेको छ । चालु आवको ९ महिनाको अवधिमा हस्पिटलको ऋण सेवा कवरेज अनुपात ३.१ गुणा तथा कुल ऋण र सञ्चालन नाफा मार्जिन बीचको अनुपात १.३ गुणा रहेको छ ।

हस्पिटलको तरलता अवस्था सन्तोषजनक रहेको रेटिङमा उल्लेख छ । हस्पिटलले आइपीओबाट प्राप्त हुने रकमले हस्पिटलको लगानी तथा पूँजीगत खर्चका प्रतिबद्धताहरु पूरा गर्न थप तरलता उपलब्ध गराउने अपेक्षा गरेको छ ।

हस्पिटलको हालका वर्षहरूमा नगद लाभांश वितरणमा उल्लेखनीय वृद्धि गरेको छ । गत आवमा हस्पिटलले ६५ प्रतिशत र सन् २०२४ मा ६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्ला वर्षहरूमा नगद लाभांश शून्य थियो ।

हस्पिटलको सहायक कम्पनी नागरिक सामुदायिक टिचिङ हस्पिटलले १ अर्ब ४० करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरी आफ्‌नो सेवा सुविधा स्तारोन्नती गर्ने योजना बढाएको छ । हालसम्ममा ७० प्रतिशत लागत ऋणमार्फत् व्यवस्थापन गर्ने जनाएको छ ।

हस्पिटलले आफ्‌ना पुँजीगत खर्च तथा लगानीहरु आन्तरिक नगद सञ्चिती र इक्विटी पूँजी प्रवाहमार्फत् व्यवस्थापन गरेपनि सहायक कम्पनीमा ऋणमार्फत् गरिने ठूलो खर्चले नागरिकको प्रारम्भिक सञ्चालन अवधिमा समग्र वित्तीय अवस्थामाथि दबाब पार्ने अपेक्षा गरेको छ ।

हस्पिटलमा रामशरण भण्डारी र उनको परिवारको स्वामित्व छ । हस्पिटलको अध्यक्ष भण्डारी हुन् । हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६६ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६४ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको हो ।