
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सय दिनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सत्ताको धुरी चढेपछि सिँढी बिर्सिएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नहुनु दु:खद् भएको बताए ।
‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो । यही संस्थाको सदस्य प्रधानमन्त्री हुनुहुन्छ । यही संसदको विश्वासमा सरकारमा रहेकाहरूको राजनीतिक दल टिकेको हो । त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्रीको प्राथमिकतामा संसद पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ? उनको प्रश्न छ ।
लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु तथा प्रख्यात हुनु र लोकप्रिय हुनु समान नभएको बताए । उनले सामाजिक सञ्जालमा भाइरल हुन सहज भएपनि प्रधानमन्त्री भएर जिम्मेवार काम गर्न गाह्रो हुने बताए ।
उनले भने,’त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले भाइरल हुने बाटो अब त्याग्नुपर्छ । प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुस् । एक्स्प्रेस वेमा सम्हालिएर ड्राइभ गर्नुस् ।’
आङ्देम्बेले विपक्षी दलको नेताले संसदमा संबोधन गर्दै गर्दा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्नेमा त्यसो नभएकोमा असन्तुष्टी जनाए ।






प्रतिक्रिया