चीनको मली टीले लुई भिटनको लोगो चोरेको ठहर, १५ लाख डलर तिर्न आदेश


एजेन्सी । लोकप्रिय चिनियाँ चिया चेन ‘मली टी’ लाई १५ लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।

एक अदालतले मली टीको लोगोले लुई भिटनको ट्रेडमार्क उल्लंघन गरेको फैसला गरेपछि प्रतिलिपि अधिकार संरक्षणलाई लिएर अनलाइन बहस सुरु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमले गत साता रिपोर्ट गरे अनुसार, पूर्वी जियान्सु प्रान्तको एक अदालतले शेन्जेनस्थित चिया कम्पनीले लुई भिटनको प्रतिष्ठित चार–पत्रे फूलको मोनोग्राम ट्रेडमार्क प्रतिलिपि गरेको फैसला सुनाएको छ ।

यस निर्णयले चीनमा अनलाइन प्रयोगकर्ताहरूलाई विभाजित गरेको छ । त्यहाँ यस मामिलासँग सम्बन्धित ह्यासट्यागले ४० करोडभन्दा बढी भ्युज र दशौं हजार कमेन्टहरू पाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीका अनुसार, शाङ्हाईको पूर्वमा रहेको सुझोउको एक अदालतले बिहीबार मली टीलाई सो लोगो प्रयोग नगर्न, सार्वजनिक रूपमा माफी माग्न र लुई भिटनलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

सोही सञ्चारमाध्यमका अनुसार, मली टी र यसका सम्बद्ध कम्पनीहरूले धेरै ट्रेडमार्कहरूको लागि आवेदन दिएका थिए जसलाई चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनले अस्वीकार गरिदिएको थियो ।

केवल मली टीका लागि चिनियाँ अक्षरहरू समावेश भएको ट्रेडमार्क मात्र सफलतापूर्वक दर्ता भएको चाइना डेलीले रिपोर्ट गरेको छ ।

धैरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मली टीको लोगोको डिजाइनको बचाउ गरेका छन् । उनीहरूले पश्चिमी विलासी ब्रान्डहरूमा प्रयोग गरिने धेरै डिजाइनहरू चिनियाँ कलाकृतिहरूबाट प्रेरित भएको कुरा औंल्याएका छन् ।

कम्पनीप्रतिको समर्थन देखाउन दिनहुँ एक कप मली टी पिउने भनी वेइबो प्लेटफर्मका एक टिप्पणीकर्ताले मन्डारिन भाषामा लेखेका छन् ।

‘यो त हद भयो । हाम्रा पुर्खाहरूले पेटेन्ट दर्ता नगरेको फाइदा उनीहरूले उठाएका हुन्,’ ती टिप्पणीकर्ताले लेखेका छन् ।

अर्को चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म रेडनोटका एक प्रयोगकर्ताले भने, ‘यस्ता सामान्य ज्यामितीय आकारहरू चीनमा मात्र नभई इतिहासभरि सबै ठाउँमा प्रयोग भएका छन् ।’

तर, केही अनलाइन प्रयोगकर्ताहरूले अदालतको फैसलाको समर्थन गरेका छन् ।

एक वेइबो प्रयोगकर्ताले मली टीको डिजाइनलाई समर्थन गर्नेहरूले पहिले कानुन पढ्नुपर्छ भन्दै लुई भिटनले पहिले नै ट्रेडमार्क दर्ता गरिसकेकाले यसमा कुनै विवाद नभएको तर्क गरे ।

अर्का एक प्रयोगकर्ताले लुई भिटनले आफ्नो बौद्धिक सम्पत्तिको रक्षा गर्नु जायज भएको र जुनसुकै उद्योगको भए तापनि अन्य ब्रान्डहरूलाई यसको नक्कल गर्ने अधिकार नभएको बताए ।