
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार गठन भएयता १५ हजार जनाभन्दा बढीले न्यूनतम रोजगारी पाइसकेको दाबी गरेका छन्।
शनिबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहबाट छनोट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी प्राप्त गरेको दाबी गरेका हुन्।
उनले भने, ‘हामीले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहबाट छनोट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी प्राप्त गर्नुभएको छ।
साथै सरकार गठनको यस अवधिमा १२३ प्रतिष्ठान र १ लाख ३६ हजार ५७५ योगदानकर्ताहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ।’
सरकार गठन भएयता १२३ प्रतिष्ठान र १ लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएर समयमै नफर्किएका करिब चार सय प्राध्यापकबाट १३ करोड २३ लाख रुपैयाँ राजश्व फिर्ता गराएको उनले बताए।






प्रतिक्रिया