
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको कार्यसम्पादन निराशाजनक रहेको ठहर गरेको हो।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले सरकारले जनतालाई डेलिभरी दिने सवालमा कुनै ठोस प्रगति गर्न नसकेको दाबी गरेको छ।
बैठकपछि कांग्रेसले जारी गरेको निर्णयमा भनिएको छ, ‘शासकीय सुधारका लागि भनिएका १०० वटा बुँदाहरू केवल कागजमा सीमित भएका छन्। यसको प्रभावकारी कार्यान्वयन नभएको विषयलाई अब संसद्मा सशक्त रूपमा उठाइनेछ।’
कांग्रेसले अबका दिनमा सरकारको कार्यप्रगतिको नियमित अनुगमन गर्ने र सरकारलाई जनउत्तरदायी बनाउन प्रमुख प्रतिपक्षी दलको हैसियतले थप सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ।
मन्त्रालयगत संयोजकहरूले बुझाएको प्रतिवेदनमाथि विस्तृत समीक्षा गर्दै बैठकले प्राप्त सुझावका आधारमा सरकारलाई आफ्ना कमी-कमजोरी सुधार्न आग्रह गरेको छ।
जनसरोकारका विषयमा कार्यसम्पादन प्रभावकारी बनाउन र शासकीय सुधारका प्रतिबद्धताहरू पूरा गर्न कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकले सरकारको कार्यशैलीमा सुधार नआए सदनदेखि सडकसम्म दबाब दिने संकेत समेत गरेको छ।






प्रतिक्रिया