बालेन र सुदनसँग एमालेले एक–एक हिसाब राखेको छः महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन्।

सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए।

उनले ‘डिस्कोर्ड च्यानल, हामी नेपाली, बारबरा फाउण्डेसन र अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गरे।

ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउनेजस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ।

सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताए।

उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसाबकिताब’ गर्ने चेतावनी दिए।

उनले भने, ‘शपथ ग्रहण गरेको २४ घण्टा पनि बित्न नपाउँदै हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ। आज विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनिएको छ। हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन शाह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ। हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ।’