सरकारका १०० दिन पूर्ण रूपमा असफल: अध्यक्ष प्रचण्ड


बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको सय दिने कार्यकाल पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।

शनिबार बुटवलमा आयोजित पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सरकारले जनतामा भ्रम मात्र छरेको आरोप लगाए।

‘जनतालाई जुन आश्वासन र भ्रम दिएर यो सरकार बनेको थियो, त्यस आधारमा हेर्दा १०० दिनको अवधि पूर्णतः असफल भएको म देख्छु,’ प्रचण्डले भने। उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे।

राजनीतिक समीकरण र सहकार्यका बारेमा बोल्दै प्रचण्डले अहिलेको परिस्थितिमा केवल वामपन्थी एकता मात्र पर्याप्त नहुने उल्लेख गरे। उनले देशको समृद्धिका लागि कांग्रेस र एमालेसहितका सबै प्रमुख दलहरूबीच सहकार्य आवश्यक रहेको औंल्याए।

उनले अगाडि भने, ‘अहिलेको आवश्यकता वाम एकता मात्र होइन, कांग्रेस र एमालेसहित सबै राजनीतिक शक्तिहरूसँगको सहकार्य हो। मुलुकलाई निकास दिन हामीले त्यही दिशामा प्रयास गरिरहेका छौं।’

प्रचण्डले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र संविधान कार्यान्वयनका लागि सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।