
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत र नेपालबीच ‘रियल-टाइम’ पर्सन-टु-परसन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाले दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम स्थानान्तरण गर्न सहज बनाउनेछ ।
यस नयाँ सुविधामार्फत भारत र नेपालका प्रयोगकर्ताहरूले आफ्नो बैंक खाताको विवरण साझा नगरी केवल भर्चुअल पेमेन्ट एड्रेस र यूपीआई आईडी प्रयोग गरेर पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
जसअनुसार, नेपाली प्रयोगकर्ताहरूले भीपीए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताहरूले यूपीआई आईडी प्रयोग गरी रकम पठाउन वा प्राप्त गर्न सक्नेछन्। यसले सीमापार भुक्तानीलाई अझ सरल, सुरक्षित र सुविधाजनक बनाएको छ।
विशेष गरी भारत र नेपालबीच भइरहने आर्थिक कारोबारमा निर्भर रहेका विद्यार्थी, पेशाकर्मी, पर्यटक र परिवारका सदस्यहरूका लागि यो सेवाले डिजिटल कनेक्टिभिटीलाई थप मजबुत बनाउनेछ । बैंकका अनुसार यो सेवा परम्परागत रेमिट्यान्स माध्यमको एक आधुनिक र छिटो विकल्पको रूपमा रहनेछ ।
सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा १३४ शाखा र १२७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूका लागि सुरक्षित र नवीन डिजिटल समाधानहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।






प्रतिक्रिया