
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाहको उचित व्यवस्थापन र दीर्घकालीन वृद्धिका लागि मानव पुँजीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
मौद्रिक नीतिको तर्जुमाका लागि राष्ट्र बैंकले आयोजना गरेको सरोकारवालसँग राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो एक वर्षमा मौद्रिक नीति तुलनात्मक रूपमा स्थिर रहेको र ब्याजदर २.७५ प्रतिशतको वरिपरि रहँदा तरलताको ठूलो समस्या भोग्नु नपरेको बताए ।
तर, कर्जाको माग र प्रवाहलाई कसरी लैजाने भन्ने मुख्य चिन्ताको विषय बनेको उनले बताए ।
बजारमा देखिएको न्यून मुद्रास्फीति वा कतिपय क्षेत्रमा देखिएको डिफ्लेसन (मूल्य गिरावट)ले आर्थिक मन्दीको संकेत गरेको उनले बताए । सामानको उचित मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेको र यसले समग्र उत्पादन चक्रमा असर पारेको बताए ।
गभर्नर पौडेलले विभिन्न ५६ वटा सभाहल र ३२ वटा विमानस्थलहरूको उदाहरण दिँदै सरकारले ठूलो लगानी गरेका पूर्वाधारहरूबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउँदै यस्ता क्षेत्रमा भएको लगानीले राजस्व वृद्धिमा खासै योगदान दिन नसकेकाले आगामी दिनमा लगानीको क्षेत्र छनोट गर्दा ध्यान दिनुपर्ने तर्क गरे । सिमेन्ट र स्टिल जस्ता ठूला उद्योगहरू पनि अहिले आफ्नो क्षमताको ४० प्रतिशत मात्र सञ्चालन भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले अर्थतन्त्र वर्तमान अवस्थाबारे जानकार नै रहेको बताए ।
दीर्घकालीन आर्थिक वृद्धिका लागि केवल भौतिक पूर्वाधार मात्र नभई शिक्षा र स्वास्थ्यमा लगानी केन्द्रित गर्नुपर्ने उनको तर्क छ । विकसित देशहरूको उदाहरण दिँदै उनले दिगो विकासका लागि आविष्कार र दक्ष जनशक्ति नै प्रमुख आधार भएको बताए ।
उनले आगामी मौद्रिक नीतिलाई थप लचिलो र समयसापेक्ष बनाउन सरोकारवालाहरूसँगको संवादलाई निरन्तरता दिने बताए । वित्त नीति र मौद्रिक नीतिबीचको समन्वयमार्फत अर्थतन्त्रका अवरोधहरू हटाउनुपर्नेमा उनले जोड दिए ।






प्रतिक्रिया