
इटहरी । नेपाली जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादन गर्दै आएको एलो हर्बलले स्किन केयर क्षेत्रमा सफलता हासिल गरेपछि अब हेयर केयर क्षेत्रमा प्रवेश गरेको छ ।
कम्पनीले कपालको प्रकारअनुसार तयार गरिएका विभिन्न हेयर केयर उत्पादनहरूको नयाँ श्रृंखला इटहरीमा सार्वजनिक गरेको हो।
इटहरीस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा देशका चर्चित कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, ब्यूटी एक्सपर्ट तथा व्यवसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीले नयाँ उत्पादनहरूको औपचारिक लञ्च गर्नुका साथै आगामी योजना र स्वदेशी उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेको थियो ।
यसै अवसरमा अभिनेत्री तथा मोडल सुरक्षा केसीलाई एलो हर्बलको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ । कम्पनीले नेपाली सौन्दर्य, आत्मविश्वास र प्राकृतिक जीवनशैलीको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा उनलाई चयन गरिएको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले नेपालमै पाइने बहुमूल्य जडीबुटीको वैज्ञानिक प्रयोगमार्फत अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादन स्वदेशमै निर्माण गर्न सकिने बताए ।
‘नेपालमा उपलब्ध जडीबुटीको सही उपयोग गर्दै गुणस्तरीय उत्पादन स्वदेशमै निर्माण गर्न सक्यौं भने देशको आर्थिक विकासमा टेवा पुग्नुका साथै रोजगारी सिर्जना गर्न र आयात प्रतिस्थापन गर्न महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने ।
उनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली उद्योगलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ अनुसन्धान, नवप्रवर्तन र गुणस्तरलाई प्राथमिकतामा राखेर कम्पनीले उत्पादन विकास गरिरहेको जानकारी दिए ।
कम्पनीका अनुसार नयाँ हेयर केयर श्रृंखलामा ड्राइ एन्ड फ्रिजी हेयर, ओइली हेयर, ड्यामेज्ड हेयर, ड्यान्ड्रफ हेयर तथा नर्मल हेयरका लागि छुट्टाछुट्टै उत्पादनहरू समावेश गरिएका छन् । यस अन्तर्गत स्काल्प सिरम, हेयर मास्क, कन्डिसनर, हेयर सिरम र रिग्रोथ हेयर आयल उपलब्ध छन्।
प्राकृतिक जडीबुटीको संयोजनबाट तयार गरिएका यी उत्पादनहरूले नेपाली उपभोक्तालाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय विकल्प प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
स्किन केयर क्षेत्रमा उपभोक्ताको विश्वास जित्न सफल एलो हर्बलले अब हेयर केयर क्षेत्रमा पनि स्वदेशी जडीबुटीमा आधारित गुणस्तरीय उत्पादनमार्फत आफ्नो उपस्थिति सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले आगामी दिनमा अनुसन्धानमा आधारित नवीन उत्पादन विकास गर्दै नेपाली उत्पादनलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने दीर्घकालीन योजना रहेको जनाएको छ।






प्रतिक्रिया