
काठमाडौं । राहदानी खरिद प्रकरणमा काठमाडौंस्थित जर्मन राजदूतावासले तीन बुँदामा स्पष्टीकरण दिएको छ ।
राजदूतावासको आधिकारिक फेसबूक पेजमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत (चार्ज-डे-अफेयर्स) सागरप्रसाद फुयाँललाई जर्मन संघीय विदेश मन्त्रालयमा स्पष्टीकरणका लागि नबोलाइएको जनाएको छ ।
उनलाई एक नियमित बैठकका लागि आमन्त्रण मात्र गरिएको दूतावासको भनाइ छ । विज्ञप्तिमा भनिएको छ,’कूटनीतिक अभ्यासमा ‘समन’ (स्पष्टीकरण) र ‘आमन्त्रण’ सुन्दा सामान्य फरक जस्तो लागे पनि कूटनीतिमा यसको ठूलो महत्व हुन्छ ।’
यस्तै, सो बैठकका क्रममा नेपाली पक्षलाई जर्मन सरकारका तर्फबाट कुनै पनि किसिमको विरोधपत्र वा अन्य कुनै लिखित दस्तावेज हस्तान्तरण नगरिएको दूतावासले जनाएको छ ।
यसका साथै नेपालमा चलिरहेको कानुनी प्रक्रियाको परिणामलाई लिएर कुनै सम्भावित परिणाम वा कानुनी तथा आर्थिक जोखिमबारे कुनै पनि चेतावनी नदिइएको समेत दूतावासले स्पष्ट पारेको छ।
जर्मन दूतावासले जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने र यो आफ्नो देशको संविधानमै सुनिश्चित गरिएको आधारभूत सिद्धान्त भएको जनाएको छ।
स्थापित अन्तर्राष्ट्रिय मान्यताअनुसार नै दूतावासले अदालतमा विचाराधीन मुद्दाहरूमा कुनै टिप्पणी नगर्ने र यस मामिलामा पनि अहिलेसम्म कतै पनि टिप्पणी नगरेको स्पष्ट पारेको छ।
राहदानी खरिद प्रकरणमा जर्मन कम्पनीहरू पनि जोडिएको भन्दै विभिन्न कोणबाट अनुसन्धान भइरहेको बेलामा राजदूतावासले यस्तो जनाएको हो ।






प्रतिक्रिया