
एजेन्सी । वैज्ञानिकहरूले एउटा यस्तो अनौठो प्रविधिको विकास गरेका छन्, जसको मद्दतले रिमोट-कन्ट्रोलबाट चल्ने साङ्लाहरू अब पानीमुनि पनि सहजै सास फेर्न र हिँडडुल गर्न सक्ने भएका छन् ।
‘थ्रीडी-प्रिन्टेड’ प्रविधिबाट बनाइएका स-साना ‘डाइभिङ सुट’का कारण यी साङ्लाहरू पानीभित्र ३ घण्टासम्म कुनै प्रतिकूल असर बिना बस्न र काम गर्न सक्छन् ।
यो खोज सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी (एनटीयु) का वैज्ञानिक हिरोताका सातो र उनको टोलीले गरेका हुन् ।
वैज्ञानिकहरूले ‘मडागास्कर हिसिङ’ प्रजातिका साङ्लाहरूको शरीरमा विद्युतीय प्रणाली (इलेक्ट्रोड) जडान गरी तिनलाई ‘साइबोर्ग’मा रूपान्तरण गरेका छन् ।
यसअघि सन् २०२१ मा यी साङ्लालाई टाढैबाट नियन्त्रण गर्न सकिने र सन् २०२४ मा २० वटा साङ्लाको झुण्डलाई एकसाथ समन्वय गरेर चलाउन सकिने सफलता प्राप्त भएको थियो ।
अहिले विकास गरिएको नयाँ डाइभिङ सुटले साङ्लाहरूलाई अक्सिजन आपूर्ति गर्ने गर्दछ । यस प्रविधिको मुख्य उद्देश्य मानव पुग्न नसक्ने कठिन विपद् ग्रस्त क्षेत्रहरू, भत्किएका संरचनाका भग्नावशेष र ढलहरूमा खोज तथा उद्धार कार्य गर्नु हो ।
वैज्ञानिकहरूका अनुसार यी स-साना र बलिया ‘साइबोर्ग’ कीराहरूलाई भविष्यमा पृथ्वीका कठिन क्षेत्रहरूमा मात्र नभई मङ्गल ग्रहको अन्वेषणका लागिसमेत प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
कीराहरूको प्राकृतिक क्षमता र आधुनिक रोबोटिक्सको यो संगमलाई विज्ञानको क्षेत्रमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।






प्रतिक्रिया