३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तलरता भएपछि केन्द्रीय बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने सञ्चालक समितिबाट स्वीकृत गरेर नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केन्द्रीय बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरी तरलता प्रशोचन गरिसकेको छ ।

मंगलबार १ वर्ष अवधिका लागि थप ३५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको हो । ऋणपत्रको बोलकबोल २०८३ असार १६ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ । ऋणपत्रको निष्कासन पनि आजै हुनेछ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु मात्र सहभागी हुन पाउनेछन् ।

ऋणपत्रको अवधि १ वर्षको हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा (हरेक ६ महिनामा) गरिनेछ । बोलकबोल गर्दा न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ।

ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरूको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइदैन । यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिन्छ ।

ऋणपत्र स्वीकृत भएका काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभई बोल रकम रद्द भएमा, स्वीकृत रकमको २.५० प्रतिशत जरिवाना लाग्नेछ । साथै, त्यस्ता संस्थालाई ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी बन्देज लगाइने बैंकले जनाएको छ ।

इच्छुक संस्थाहरूले ब्याजदर प्रस्ताव गर्दा दशमलव पछिको ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ । प्राप्त बोलकबोलहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिई एकल ब्याजदरमा ऋणपत्र बाँडफाँट गरिने सूचनामा उल्लेख छ ।