विश्व फुटबलमा छुट्टै पहिचान बनाएको संस्कृतिको कथा: जापानी फुटबलमा किन महत्त्वपूर्ण छ फेयर प्ले र अनुशासन ?

21
Shares

तस्बिर: एपी

एजेन्सी । विश्व फुटबलमा जापानको परिचय केवल बलियो टोलीका रूपमा मात्र छैन । अनुशासन, फेयर प्ले, सम्मान र सामाजिक जिम्मेवारीलाई खेल संस्कृतिसँग जोड्ने राष्ट्रका रूपमा पनि जापानले अलग पहिचान बनाएको छ ।

यही कारण जापानी फुटबलबारे चर्चा हुँदा खेलाडीको प्रदर्शनसँगै समर्थकको व्यवहार, टोलीको अनुशासन र खेलप्रतिको सम्मान पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख विषय बन्ने गरेको छ ।

यस वर्षको विश्वकपमा पनि जापानी समर्थकहरूले आफ्नो टोलीको खेल सकिएपछि स्टेडियमका दर्शकदीर्घा सफा गरेर फेरि एकपटक विश्वको ध्यान ताने ।

खेलभर टोलीलाई उत्साहका साथ समर्थन गरेका समर्थकहरूले अन्तिम सिटी बज्नेबित्तिकै निलो प्लास्टिकका झोलामा फोहोर संकलन गर्दै आफ्नो बस्ने क्षेत्र सफा बनाएर मात्र स्टेडियम छाडे ।

एसोसिएटेड प्रेस, फक्स स्पोर्ट्स, द वासिङ्टन पोस्टलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई जापानी फुटबल संस्कृतिको निरन्तरता भन्दै विशेष महत्व दिएका छन् ।

यो परम्परा नयाँ भने होइन । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा जापान पहिलो पटक सहभागी हुँदा समर्थकहरूले स्टेडियम सफा गरेको दृश्य विश्वभर चर्चामा आएको थियो । त्यसयता २००२, २००६, २०१०, २०१४, २०१८, २०२२ हुँदै २०२६ सम्म हरेक विश्वकपमा जापानी समर्थकहरूले यही संस्कारलाई निरन्तरता दिएका छन् ।

समर्थक मात्र होइन, जापानी खेलाडीहरूले पनि अनुशासनको उदाहरण प्रस्तुत गर्दै आएका छन् । सन् २०१८ को विश्वकपमा बेल्जियमसँग पराजित भएपछि जापानी टोलीले ड्रेसिङ रुम पूर्ण रूपमा सफा गरेर ‘धन्यवाद’ लेखिएको सन्देश छाडेको थियो ।

सन् २०२२ मा कतार विश्वकपमा पनि खेलाडीहरूले ड्रेसिङ रुम सफा गरी आयोजकप्रति सम्मान व्यक्त गरेका थिए । यही व्यवहारलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘फेयर प्ले मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि’ भन्ने उदाहरणका रूपमा चित्रण गरेका थिए ।

विश्लेषकहरूका अनुसार यसको जरो जापानको शिक्षा प्रणाली र सामाजिक संस्कृतिमा छ । जापानी विद्यालयमा विद्यार्थीहरूले आफ्नै कक्षा कोठा, करिडोर र विद्यालय परिसर आफैं सफा गर्ने अभ्यास गर्छन् ।

सानैदेखि सार्वजनिक सम्पत्तिको सम्मान गर्ने, अरूलाई दुःख नदिने र आफूले प्रयोग गरेको स्थान सफा राख्ने संस्कार सिकाइने भएकाले यही व्यवहार खेल मैदानसम्म पुगेको बताइन्छ । जापानी समाजमा प्रचलित ‘मेइवाकु’ अर्थात् अरूलाई असुविधा नपुर्‍याउने मूल्यलाई पनि यसको आधार मानिन्छ ।

फुटबल प्रशिक्षक र समर्थकहरूका अनुसार स्टेडियम सफा गर्नु प्रचारका लागि होइन, आफ्नो संस्कारको स्वाभाविक अभ्यास हो । उनीहरू आफूले प्रयोग गरेको स्थान पहिलेभन्दा सफा अवस्थामा छाड्नुपर्ने मान्यता राख्छन् । यही कारण जापानी टोली खेल्न जाने अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा यो दृश्य दोहोरिने गरेको छ ।

जापानमा फेयर प्ले भनेको केवल नियम उल्लङ्घन नगर्नु मात्र होइन, विपक्षी, रेफ्री, आयोजक र समर्थक सबैप्रति सम्मान देखाउनु पनि हो ।

खेल जितेपछि संयमता र हारेपछि पनि मर्यादित व्यवहारलाई त्यहाँको फुटबल संस्कृतिको अभिन्न हिस्सा मानिन्छ । यही कारण जापानी टोली र समर्थकलाई विश्व फुटबलमा अनुशासनको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ ।

यद्यपि जापानी फुटबल पनि आलोचनाबाट मुक्त भने छैन । सन् २०१८ को विश्वकपमा पोल्यान्डसँगको खेलको अन्तिम समयमा बल होल्ड गरेर खेल समाप्त गरेको रणनीतिलाई केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र समर्थकहरूले खेल भावना विपरीत भन्दै आलोचना गरेका थिए । त्यस घटनाले जापानमा पनि फेयर प्लेबारे व्यापक बहस गराएको थियो । यसले जापानी फुटबलमा अनुशासन र नैतिकताको विषयलाई अझ गम्भीर रूपमा हेरिने गरेको देखाउँछ ।

विश्व फुटबलमा उपाधिभन्दा बाहिर पनि कुनै राष्ट्रले सम्मान कमाउन सक्छ भन्ने उदाहरण जापानले बारम्बार प्रस्तुत गर्दै आएको छ । मैदानभित्रको प्रतिस्पर्धासँगै मैदानबाहिरको जिम्मेवारी, अनुशासन र सम्मानका कारण ‘सामुराई ब्लु’ र उसका समर्थकहरू विश्वभर प्रशंसाका पात्र बन्ने गरेका छन् ।