
एजेन्सी । मंगलबार (जुन ३०) पाराग्वेमा कुनै पनि कामकाज हुने छैन ।
विश्वकप फुटबलमा सन् २००२ पछि पहिलोपटक अन्तिम १६ मा पुग्नका लागि जर्मनी विरुद्ध अल्बिरोजा (पाराग्वेको राष्ट्रिय टोली) को जितपछि आधिकारिक बिदा दिइएको हो ।
पाराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले केही आक्रामक शब्दहरू प्रयोग गर्दै एउटा ट्वीटमार्फत बिदाको घोषणा गरे, जसमा उनले भनेका थिए, ‘पाराग्वेले कहिल्यै हार मान्दैन ! सार्वजनिक बिदा, धत्तेरिका !’
पाराग्वेको कानुनले कार्यपालिकालाई वर्षमा थप तीनवटा सार्वजनिक बिदा घोषणा गर्ने अधिकार दिन्छ ।
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपपछि पाराग्वे राष्ट्रिय टोली पहिलोपटक विश्वकपमा फर्किएको हो । विश्वकपमा छनोट हुँदा पेन्याले सन् २०२५ को सेप्टेम्बरमा पनि सार्वजनिक बिदा घोषणा गरेका थिए ।
बलियो मानिएको युरोपेली टोली विरुद्धको खेलमा जुलियो एन्सिसाको गोलको मद्दतले पाराग्वेले सुरुवाती अग्रता लिएको थियो । तर, दोस्रो हाफमा काइ हाभर्ट्जले जर्मनीलाई बराबरीमा ल्याए ।
थपिएको समयमा जर्मनीले गरेको गोल भिडियो रिभ्युमा फाउल देखिएपछि रद्द भयो । त्यसकारण पाराग्वे पेनाल्टी सुटआउटसम्म पुग्न र खेल जित्न सफल भयो ।
गोलकिपर ओर्लान्डो गिलले निर्धारित समयमा ६ पटक बचाउ गरे र त्यसपछि जितका लागि दुईवटा पेनाल्टी प्रहार पनि रोके ।
अन्तिम १६ को खेलमा फ्रान्स र स्विडन बीचको विजेतासँग पाराग्वेको कडा प्रतिस्पर्धा हुनेछ ।






प्रतिक्रिया