प्रधानमन्त्री बालेनको सक्रियतापछि चिया निकासीमा भारतीय अवरोध हट्यो

दुई महिनादेखि अवरुद्ध चिया निकासी मंगलबारदेखि सुचारु


विराटनगर । नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण झन्डै दुई महिनादेखि अवरुद्ध भएको नेपाली चिया निकासी मंगलबारदेखि पुन: सुरु भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार मंगलबार नेपालको अर्थोडक्स चिया बोकेका दुईवटा ट्रक काँकरभिट्टा भन्सारबाट भारतको पानीट्याङ्कीस्थित भारतीय भन्सारमा पुगेका छन् । उनका अनुसार भारतीय भन्सारले नेपालबाट गएको त्यो चियाको भन्सार चेकजाँच गरेर पठाइसकेको छ ।

दुई महिनादेखि अवरुद्ध रहेको नेपाली चिया निकासी मंगलबार इलामको समल भ्याली र इलाम टीको एक–एक गाडी अर्थोडक्स चिया निकासी भएसँगै सुचारु भएको इलामको फिक्कलस्थित सूर्योदय टी प्रोसेसिङ एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘दुई महिना निकासी अवरुद्ध हुँदा इलामका चिया उद्योगमा करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको छ । अब त्यो सबै चिया निर्वाध रूपमा निकासी हुने विश्वास गरिएको छ ।’

भारतले पछिल्लो पटक नेपालबाट आयात हुने प्रत्येक ५ गाडी चियामध्ये १ गाडी अर्थात् चियाको २० प्रतिशत खेपमा अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था यथावत् राखेर अवरुद्ध निकासी खुला गरेको हो ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुनमा जारी गरेको पत्रमार्फत चिया (एचएसएन कोड ०९०२) आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै २० प्रतिशत खेपमा ‘र्‍यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याएको हो ।

एफएसएसएआईका अनुसार भारतका वाणिज्य सचिवको अध्यक्षतामा जुन १६ मा बसेको बैठकको निर्णयअनुसार घरेलु उपभोगका लागि आयात हुने चियामा प्रारम्भिक रूपमा २० प्रतिशत दरमा परीक्षण गरिनेछ । यो व्यवस्था भारतका सबै भन्सार नाकामा लागू हुनेछ । पानीट्याङ्की भन्सार नाकामा यस्तो व्यवस्था नहुँदा परीक्षणका लागि नमुना कोलकाता पुर्‍याउनुपर्ने बाध्यता छ ।

भारतीय चिया खरिदकर्ताहरूले चिया खरिदका लागि दुई दिनदेखि धमाधम अर्डर पठाउन सुरु गरेका छन् । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय पक्षले गुणस्तरको प्रयोगशाला परीक्षणका नाममा अब नेपाली चिया नरोक्ने ती भारतीय खरिदकर्ताले दाबी गरेको बताएका छन् ।

अब पहिलाजस्तो गुणस्तर परीक्षणको बहानामा भारतले नरोक्ने जनाइएको छ । गुप्ताले भने, ‘प्रत्येक ५ वटा ट्रकमध्ये एक ट्रकको चाहिँ नमुना परीक्षण गरिनेछ, नमुनाको नतिजाका आधारमा चिया रोक्ने वा नरोक्ने निक्र्योल गरिनेछ ।’

झन्डै डेढ महिनादेखि गुणस्तर परीक्षणका नाममा भारतीय व्यापारीको गोदाममा थन्किएको करिब अढाई लाख किलो नेपाली चिया पनि भारतीय बजारमा निस्किसकेको गुप्ताले बताए । खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले कोलकातामै चिया परीक्षण गर्नेछ । अब पहिलाजस्तो चिया बोर्डले सोझै हस्तक्षेप नगर्ने भनिएको छ । गुप्ताका अनुसार त्यसकै कारण नेपाली चिया उद्योगी र किसानमा आशा पलाएको छ ।

गत वैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो ।

त्यसको विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर, भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्ण रूपमा ठप्प भएसँगै इलामका ६५ अर्थोडक्स र झापाका ३० वटा सिटीसी चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए ।

प्रधानमन्त्री बालेन शाह तथा मन्त्रिपरिषद्को कार्यालयले चिया निर्यातमा देखिएका समस्याको कूटनीतिक तथा प्रशासनिक पहलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले शुक्रबारदेखि उद्योग सञ्चालन गरेका थिए । ती उद्योगमा ३० हजार परिवारभन्दा बढी किसान र एक लाखभन्दा बढी मजदुर जोडिएका छन् ।

चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्न प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव रहेको समिति गठन गरेको थियो ।

नेपालमा वार्षिक ६५ लाख किलो अर्थोडक्स र २ करोड किलो सिटीसी चिया उत्पादन हुन्छ । नेपालमा उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।