
एजेन्सी । हालै गरिएको एक वैज्ञानिक अनुसन्धानले ५० वर्षको उमेरपछि शरीरको तौल बढ्नु आन्द्राको क्यान्सरको जोखिमका लागि निकै घातक हुने देखाएको छ।
‘जर्मन क्यान्सर रिसर्च सेन्टर’का अनुसन्धानकर्ताहरूले गरेको यस अध्ययनअनुसार, मध्य उमेर अर्थात् ५० देखि ६० वर्षको बीचमा हुने तौल वृद्धिले आन्द्रामा क्यान्सरका ट्युमरहरू विकसित हुने सम्भावनालाई उल्लेख्य रूपमा बढाउँछ ।
विगतमा मोटोपनालाई मात्र क्यान्सरको सामान्य कारक मानिने गरिएको भए तापनि, यो नयाँ अध्ययनले जीवनको कुन समयमा तौल बढ्छ भन्ने कुराले विशेष महत्त्व राख्ने तथ्य उजागर गरेको छ।
अनुसन्धानका अनुसार ५० वर्षको उमेरपछि शरीरको मेटाबोलिजम कमजोर हुने र हर्मोनहरूमा परिवर्तन आउने हुँदा यो समयमा बढ्ने तौलले शरीरभित्र ‘इन्फ्लामेसन’ पैदा गर्छ।
यस्तो इन्फ्लामेसनले आन्द्राका कोषहरूलाई क्षति पुर्याई क्यान्सरको विकासमा मद्दत पुर्याउँछ। विशेषगरी पेटको वरिपरि बोसो जम्मा हुनुले शरीरमा इन्सुलिनको सन्तुलन बिगार्ने र त्यसले अन्ततः क्यान्सरको कोष वृद्धिमा भूमिका खेल्ने विज्ञहरूको ठम्याइ छ।
यो जोखिम पुरुष र महिला दुवैमा समान देखिए पनि पुरुषहरूमा पेटको बोसो लाग्ने प्रवृत्ति बढी हुने भएकाले उनीहरू थप सतर्क हुनुपर्ने अध्ययनले संकेत गरेको छ।
चिकित्सक तथा अनुसन्धानकर्ताहरूले यस जोखिमबाट बच्न ५० वर्ष पार गरेका व्यक्तिहरूलाई आफ्नो तौल कडाइका साथ नियन्त्रणमा राख्न सुझाव दिएका छन्।
सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम र प्रशोधित मासुको कम प्रयोगले यो जोखिमलाई निकै हदसम्म कम गर्न सकिन्छ।
विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक मानिने आन्द्राको क्यान्सरलाई समयमै तौल व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षण (स्क्रिनिङ) मार्फत रोकथाम गर्न सकिने विज्ञहरूले औंल्याएका छन् ।






प्रतिक्रिया