
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ । समृद्धि फाइनान्स कम्पनीसँगको मर्जर प्रक्रिया सम्पन्न भई पुँजीकोषको अवस्थामा सुधार आएपछि केन्द्रीय बैंकले पोखरा पाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको हो ।
पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको प्रतिवेदनका आधारमा पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्युनतम सीमाभन्दा निकै न्यून देखिएको थियो । सोही कारण राष्ट्र बैंकले २०८१ माघ २३ गते शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम संस्थालाई कारबाही गरेको थियो ।
यसैबीच पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिने (मर्जर) प्रक्रिया अगाडि बढेको थियो । मर्जरका लागि राष्ट्र बैंकले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
मर्जरपश्चात् तयार पारिएको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ । यो सुधार देखिएपछि राष्ट्र बैंकको सञ्चालक समितिको २०८३ असार १० गतेको निर्णयानुसार पोखरा फाइनान्समाथिको कारबाही फुकुवा गरिएको जनाएको छ ।
पोखरा फाइनान्सको कारबाही फुकुवाको निर्णय समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुनेछ ।







प्रतिक्रिया