१० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख रुपैयाँसम्म पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । सबैभन्दा धेरै खपत हुने र बिक्रीसहितको मूल्यका आधारमा नेपालीले प्रयोग गर्ने मोबाइलको औसत मूल्य भने ३० हजार रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपालीले पछिल्लो ११ महिनामा नै मोबाइल फोनका लागि पौने ६१ अर्ब रुपैयाँ खर्च गरेका छन् । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा नेपालमा २० लाख ४१ हजार वटा स्मार्टफोन भित्रिएका छन् । यी फोनका लागि नेपालीले करिब ६० अर्ब ८३ करोड ६६ लाख ६४ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।
भन्सार विभागको जेठसम्मको तथ्यांक अनुसार २० लाख मोबाइल आयात हुँदाको भन्सार मूल्य ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँको छ । उक्त मूल्यका मोबाइल भित्रिँदा राज्यले ८ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
जेठसम्ममा भित्रिएका यी मोबाइलको औसत बजार मूल्य ३० हजार रुपैयाँ देखिन्छ । यो तथ्यांकका अनुसार नेपाली स्मार्टफोन प्रयोगकर्ताले औसतमा ३० हजार रुपैयाँको मोबाइल प्रयोग गर्छन् । त्यसो त १० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । यी मोबाइलको औसत मूल्य भने ३० हजार रुपैयाँ हुन्छ ।
बजारमा बिक्री हुने सबैभन्दा बढी मोबाइल सेट पनि २५ देखि ३५ हजार रुपैयाँकै हुने गरेको मोबाइल व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार नेपालमा आयात भएका मोबाइलमा भन्सार मूल्यमा थप ४० प्रतिशत शुल्क बजारसम्म पुग्दा जोडिन्छ ।
सरकारले मोबाइल आयात गर्दा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तःशुल्क लिन्छ । व्यवसायीले मूल्य अभिवृद्धि करमा तिर्नुपर्ने शून्य दशमलव ६५ प्रतिशत भ्याटका कारण एकमुष्ट रूपमा मोबाइल आयात गरेबापत सरकारलाई १८.६५ प्रतिशत राजस्व तिर्दै आएका छन् ।
नेपाल भित्रिएका मोबाइलमा आयातकर्ता र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा थपिँदै जाने मार्जिन जोडिने गरेको छ । व्यवसायीले बिक्री गरेर आम उपभोक्ताले खरिद गर्दासम्म आयात मूल्यमा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको मोबाइल आयातकर्ता संघको भनाइ छ । बजारमा थपिने मूल्य ४३ अर्बको मोबाइल आयात हुँदा १७ अर्ब रुपैयाँ थप शुल्क जोडिने भएकोले ६१ अर्ब रुपैयाँ नजिकको मूल्य देखिएको हो ।
नेपालमा भित्रिएको मोबाइल सेट ४ वर्ष पछिकै धेरै भए पनि मूल्यका हिसाबले अहिलेसम्मकै धेरै हो । ४ वर्षअगाडि २०७८/७९ मा यो अवधिमा ५५ लाख ८६ हजार सेट भित्रिएका थिए । त्यतिबेला स्मार्टफोन मात्रै नभएर सामान्य फिचरका बारफोनको संख्या बढी हुने गरेको थियो ।
पछिल्लो समय सामान्य फिचरका फोनको सट्टा पनि स्मार्टफोन नै आउने गरेका छन् । जसका कारण मोबाइलको संख्या विगतको भन्दा कम देखिएको भए पनि मूल्यका कारण बजार हुने खपत धेरै देखिएको हो ।
नेपालमा भित्रिएको मोबाइल गत वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । गत वर्ष १९ लाख ७५ हजार वटा सेट आउँदा ३२ अर्ब ८ करोड रुपैयाँ भन्सार मूल्यको थियो । यस्तो मोबाइलको मूल्य अघिल्लो वर्ष २०८०/८१ मा जम्मा २६ हजार मात्रै थियो ।

स्मार्टफोन ग्राफबढ्दा मासिक ४ अर्ब रुपैयाँ बारबरको वैदेशिक मुद्रा बाहिरियो
नेपालमा वार्षिक ४३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आउँदा मासिक रुपमा हुने आयात करिब ४ अर्ब रुपैयाँको हुँन आउँछ । नेपालमा स्मार्टफोनको आयात बढ्दा विदेशी मुद्रा मासिक रुपमै करिब ४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रासमेत बाहिरिरहेको छ ।
नेपालमा पछिल्लो एक दशकमा स्मार्टफोनको प्रयोग र आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो १० वर्षको (जेठ मसान्तसम्मको) तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयातको दर र यसमा खर्च हुने रकम दुवैमा उल्लेख्य रुपमा बढीरहेको देखिएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा वार्षिक १ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएकोमा १० वर्षपछि अर्थात् चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा यो रकम बढेर ४३ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै ६५ लाख ५४ हजार ३२३ थान स्मार्टफोन आयात भएको थियो। त्यस समयमा ३४ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको थियो। तर, अहिले भित्रिएको मोबाइलको संख्याका आधारमा आयात कम भए पनि आयात मूल्य भने हालसम्मकै उच्च हुन पुगेको छ । यसले नेपाली बजारमा पछिल्लो समय सस्तो सेटभन्दा महँगा र प्रिमियम स्मार्टफोनको माग बढेको देखाउँछ ।
स्मार्टफोनको आयात बढ्नुलाई डिजिटल नेपालको यात्रामा सकारात्मक मानिए पनि ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिनु अर्थतन्त्रका लागि चुनौती बनेको छ । विशेषगरी कोभिड-१९ को समय (२०७७/७८) पछि नेपालमा स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको थियो । जसको प्रभाव अहिले पनि कायमै देखिन्छ।
विज्ञहरूका अनुसार इन्टरनेटको पहुँचमा वृद्धि, अनलाइन शिक्षा, डिजिटल बैंकिङ र सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण स्मार्टफोन अब विलासिताको वस्तु नभई अत्यावश्यक साधन बन्दै जानुले पनि यसको प्रयोग बढेको हो । नेपालमै मोबाइल एसेम्बलिङ प्लान्टहरूलाई प्रोत्साहन दिन सके यो ठूलो व्यापार घाटा कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।






प्रतिक्रिया