राष्ट्र बैंकका १०० कर्मचारी एकैदिन अवकाश हुदै




काठमाडौं । राष्ट्र बैंकमा कार्यरत निर्देशक, उपनिर्देशकसहित १०० जना कर्मचारी एकै दिन अवकाश हुने भएका छन् । आगामी बैशाख ३ गते एकै पटक ठूलो संख्यामा कर्मचारी अवकाश हुने भएका हुन् ।

राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा भएको ब्यवस्था अनुसार सेवा अवधि ३० बर्ष वा उमेरहद ५८ बर्षमध्ये जुन पहिला आउँछ त्यसैको आधारमा कर्मचारी अवकास हुन्छन् । सोही प्रावधान अनुसार सेवा अवधि ३० बर्ष पुगेकोले ठूलो संख्यामा कर्मचारी एकै पटक अवकास पाउन लागेका हुन् ।

यसरी अवकाश पाउने कर्मचारीलाई राष्ट्र बैंकले १० बर्षसम्मको एकमुष्ठ पेन्सन दिएर विदा गर्ने गरेको छ । यस्तै अवकास पाउने कर्मचारी जुन पदबाट अवकाश पाउँछन्, सोभन्दा एक तह बढीको पेन्सन दिने गरिएको छ ।

यसरी एकमुष्ठ पेन्सन दिदा राष्ट्र बैंकलाई ठूलो आर्थिक भार पर्ने गरेको छ ।

सरकारले यसअघि नै निजामति कर्मचारीको स्वेच्छिक अवकाश योजना रोकेको छ । सो योजनामा ७ बर्षको एकमुष्ठ पेन्सन दिने ब्यवस्था थियो । निजामति कर्मचारीको हकमा भने सेवा अवधि २० बर्ष पुगेको र उमेर ५० बर्ष पुगेको हुनुपर्ने प्रावधान छ । यस्तो सुविधा दिएर कर्मचारीलाई अवकाश दिदा राज्यकोषको करिब ३० अर्ब रुपैयाँ खर्च हुने भन्दै सरकारले तत्कालको लागि सो ब्यवस्था स्थगन गरेको छ ।


क्लिकमान्डु