वर्ल्डलिंकले हरेक दिन गर्छ ३ करोड ३२ लाखको व्यापार, वार्षिक १२ अर्ब आम्दानीमध्ये एकतिहाई नाफा

182
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन बारे तपाईंलाई धेरै कुराहरू जानकारी नै होला । तर उसले एक सेकेन्ड वा एक मिनेट वा एक दिनमा कति कमाउला ? सोच्नुहोस् त !

यस्तो कम्पनी जसको देशभर १० लाख ७८ हजार ग्राहक छन् । यस्तो कम्पनी जसले गत वर्ष देभभर सवा ३ लाख इन्टरनेट कम्पनीको ग्राहक थपिँदा ऊ एक्लैको ९४ हजार ग्राहक थपिए । यही कम्पनी वर्ल्डलिंकले एक सेकेन्डमा ३ सय ८५ रुपैयाँको व्यापार गर्दछ । हरेक सेकेन्ड बित्दै गर्दा वर्ल्डलिंकको खातामा ३ सय ८५ रूपैयाँ थपिइसक्छ भन्नेबारे थाहा पाउँदा तपाईं पक्कै अचम्म हुनुभयो होला । हो, वर्ल्डलिंकले एक मिनेटमा २३ हजार ८० रुपैयाँको व्यापार गर्छ भने एक घण्टामा १३ लाख ८४ हजार रुपैयाँको व्यापार गर्छ ।

यही अनुपातमा उसले एक दिनमा ३ करोड ३२ लाख ३६ हजार रुपैयाँको व्यापार गर्छ भने हरेक महिना इन्टरनेट सेवा दिएर १ अर्ब १ करोड रुपैयाँ आम्दानी गर्छ । वर्ल्डलिंक कम्युनिकेसनले एकै वर्ष १२ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब १३ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

वर्ल्डलिंक नेपालमा ‘एक्सजीएस-पीओएन’ प्रविधिमा आफ्नो नेटवर्क अपडेट गर्ने पहिलो कम्पनी हो । कम्पनीले सन् २०१८ देखि नै फिनल्यान्डको चर्चित प्रविधि कम्पनी ‘नोकिया’ सँग १० लाख घरधुरीमा फाइबर पुर्‍याउने गरी साझेदारी गरिरहेको छ । यस्तै, आफ्नै ‘वायरलेस ट्रंक नेटवर्क’ भएको र सेटलाइटमार्फत जोडिने यो पहिलो निजी इन्टरनेट सेवा प्रदायक समेत हो ।

कम्पनीको कुल आम्दानीमा ‘रिटेल’ (व्यक्तिगत) ग्राहकको हिस्सा ४२ प्रतिशत र ‘कर्पोरेट’ (व्यावसायिक) ग्राहकको हिस्सा ९ प्रतिशत रहेको छ। बाँकी आम्दानी अनुगमन, प्राविधिक सहयोग र उपकरण बिक्रीबाट हुने गरेको छ ।

कम्पनीले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीका अनुसार गत आवमा कारोबार ९.०१ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवमा इन्टरनेट सेवा क्षेत्रबाट मात्रै ५१ प्रतिशत आम्दानी गरेको छ भने ४३ प्रतिशत अनुगमन र प्राविधिक सहयोगबाट र बाँकी ६ प्रतिशत नेटवर्क सेवा प्रदायक तथा सामग्री बिक्री वितरणबाट भएको उल्लेख छ ।

कम्पनीका अनुसार गत आवमा इन्टरनेट ब्यान्डविथसम्बन्धी खर्चहरू लगभग उही स्तरमा कायम रहे पनि कर्मचारी सुविधा खर्चसहितका अन्य सञ्चालन खर्चहरूमा राम्रो सञ्चालन दक्षताका कारण कही कमी आएको जनाएको छ । जसले गर्दा कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ को तुलनामा बढेको पाइएको छ । कम्पनीले सन् २०२४ मा ३१.४५ प्रतिशत सञ्चालन नाफा मार्जिन रहेकोमा बढेर गत आवमा ३२.६१ प्रतिशत पुगेको छ । अर्थात् १२ अर्ब १३ करोडको व्यापार गर्दा कम्पनीको सञ्चालन नाफा करिब ४ अर्ब रूपैयाँ हुन्छ ।

आम्दानी र नाफामा आएको सुधारले कुल नगद सञ्चितिमा उल्लेखनीय वृद्धि भएको रेटिङमा उल्लेख छ । सन् २०२४ मा ९४ करोड रुपैयाँ कुल नगद सञ्चिती रहेकोमा गत आवमा बढेर ३ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीले चालु आवमा पनि गत आवअनुसार नै कारोबार वृद्धि गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीअनुसार चालु आवको ९ महिनाको अवधिमा १० प्रतिशतले आम्दानी वृद्धि भएको उल्लेख छ । साथै, नाफा मार्जिन ३२ प्रतिशतमा स्थिर रहेको छ भने कुल नगद सञ्चिति २ अर्ब ४५ करोड रुपैयाँ कायम रहेको छ ।

सन् १९९६ मा स्थापना भएको कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीले विगत तीन दशकदेखि वर्ल्डलिंक ब्रान्डमा सेवा दिँदै आएको छ ।

कम्पनीले विगत केही वर्षदेखि आफ्‌नो बजार पहुँच विस्तार गर्न नयाँ स्थानहरुमा नेटवर्क पूर्वाधार स्थापना गर्न उल्लेखनीय पुँजीगत खर्च गर्दै आएको छ । कम्पनीले इक्विटी लगानी तथा आन्तरिक सञ्चितिमार्फत् पुँजीगत खर्च गर्दै आएको हो । कम्पनीले हाल देशभर डाटा सेन्ट परियेजनाहरु विकास गर्न छुट्टै विशेष उद्देश्ययुक्त संस्था स्थापना गरेको छ ।

सन् २०२४ को अन्त्यसम्म कम्पनीले खुद नोक्सानी व्यहोरेका कारण नेटवर्थ आधार कमजोर भएको थियो । तर, गत आवमा उल्लेखनीय कारोबार बढ्दा कम्पनीको ट्यान्जिबल नेटवर्थमा सुधार आएको छ ।

त्यसैगरी, कम्पनीको समग्र गियरिङ अनुपात स्थिर रहेको छ । सन् २०२४ मा ०.७५ गुणा रहेको गियरिङ अनुपात सन् २०२५ मा ०.८२ गुणा रहेको छ ।

कम्पनीको ब्याज कभरेज अनुपातमा सुधार आएको छ । सन् २०२४ मा ब्याज कभरेज अनुपात ११.८४ गुणा रहेकोमा गत आवमा बढेर १३.८९ गुणा पुगेको छ । कम्पनीअनुसार गत आवमा सञ्चालन नाफामा सुधार हुँदा ब्याज कभरेज अनुपातमा पनि सुधार आएको उल्लेख छ ।

कम्पनीको कुल ऋण सञ्चालन नाफा भन्दा कम छ । यसको अर्थ एक वर्षकै सञ्चालन नाफाले पनि ऋण तिर्ने क्षमता राख्दछ ।

गत वर्ष कम्पनीको कुल ऋण सञ्चालन नाफाको ०.७६ गुणा थियो । चालु आवको ९ महिनाको अवधिमा ऋणको स्तरमा कमी आएका कारण थप सुधार भई ०.६३ गुणामा पुगेको छ । त्यस्तै, कम्पनीको नगद सञ्चितिका कारण गत आवमा कुल ऋण/कुल नगद सञ्चितिमा पनि सुधार भई ०.९९ गुणामा पुगेको छ ।

फिनिस फन्ड फर इन्डष्ट्रियल कोपरेसनबाट प्राप्त इक्विटी लगानीपश्चात कम्पनीमा लिभरेज सूचकहरुमा सुधार आएको छ ।

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको समग्र गियरिङ अनुपात गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेर ०.४७ गुणामा पुगेको छ । गत आवमा १.०३ गुणा थियो ।

चालु आवको ९ महिनाको अवधिसम्ममा कम्पनीसँग १ अर्ब ७ करोड ९० लाख रुपैयाँ पर्याप्त नगद तथा बैंक मौज्दात पनि रहेको छ ।

नेपाल टेलिकम प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कम्पनीले नेपालको सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको पाइन्छ । गत आवसम्ममा कम्पनीले नेपालको इन्टरनेट प्रदायक क्षेत्रको ३२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

कम्पनीको देशभर करिब १० लाख ग्राहक छन् । कम्पनीको गत आवमा १०.२३ प्रतिशत ग्राहकले बढ्दै गएको उल्लेख छ । उद्योगको वृद्धिदर भने ११.११ प्रतिशत रहेको छ ।

गत आवमा देशभर ३ लाख १३ हजार ४ सय १६ नयाँ ग्राहकहरुले सेवा लिँदा कम्पनीले मात्रै ९४ हजार १३ नयाँ ग्राहक आकर्षित गर्न सफल भएको कम्पनीको भनाइ छ । जसमा कम्पनीले ३० प्रतिशत ग्राहक हिस्सा ओगटेको छ ।

चालु आवको ९ महिनाको अवधिसम्ममा देशभर ३४ लाख ८० हजार इन्टरनेट सेवा प्रदायक ग्राहक हुँदा कम्पनीको १० लाख ८० हजार ग्राहक छन् । जसले गर्दा कम्पनी सेवा दिने क्षेत्रको अग्रणी स्थानमा छ ।

इन्टरनेटका उपकरणहरू विदेशबाट डलरमा आयात गर्नुपर्ने भएकाले विनिमय दरमा हुने उतारचढावले कम्पनीलाई ठूलो प्रभाव पारेको छ। रिपोर्टले औंल्याएअनुसार, आर्थिक वर्ष २०२५ मा मात्रै कम्पनीले ११ करोड रुपैयाँ (११० मिलियन) बराबरको ‘फरेन एक्सचेन्ज लस’ (विदेशी मुद्रा विनिमय नोक्सानी) व्यहोरेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँगको पोल भाडा विवाद र सरकारले लगाएको दूरसञ्चार सेवा शुल्कका कारण सिर्जित दायित्वलाई रिपोर्टले मुख्य जोखिमका रूपमा हेरेको छ । प्राधिकरणले बढाएको पूर्वाधार शुल्कमा सहमति नजुटिसकेको र यसले भविष्यमा पार्न सक्ने प्रभावबारे रिपोर्टमा उल्लेख छ ।

कम्पनीको हरेक वर्ष ग्राहक बढ्दै गएपनि प्रति ग्राहक औसत आम्दानी भने पछिल्ला तीन वर्षदेखि निरन्तर घट्दो क्रममा छ । सन् २०२४ मा प्रति ग्राहक ९ सय २७ रुपैयाँ रहेको औसमत आम्दानी गत आवमा घटेर ८ सय ४९ रुपैयाँमा सिमित भएको छ । चालु आवको ६ महिनाको अवधिमा भने बढेर ८ सय ५९ रुपैयाँमा पुगेको छ ।

कम्पनीले सन् २०२३ को जनवरीमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ तथा सन् २०२३ को मार्चमा डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ सिरिज बी लगानी प्राप्त गरेको थियो । साथै, कम्पनीले सन् २०२६ को फेब्रुअरीमा फिनिस फन्ड फर इन्डष्ट्रियल कोपरेसनबाट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ ।

यस सिरिज बी लगानीसँगै कम्पनीमा कुल वैदेशिक लगानी ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ । हालसम्म प्राप्त प्रत्यक्ष वैदेशिक लगानी कम्पनीको नेटवर्क पूर्वाधार विस्तारका लागि उपयोग गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीमा पाँच जना निर्देशक छन् । दिलिप अग्रवाल अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

अध्यक्ष अग्रवाल सन् १९९६ मा अमेरिकाको ‘बेट्स कलेज’ बाट स्नातक गरी कम्पनी स्थापनामा लागेको र अन्य सञ्चालकहरू मनोज कुमार अग्रवाल र लक्ष्मण कुमार यादव स्थापना कालदेखि नै आबद्ध रही कम्पनीलाई यहाँसम्म पुर्‍याएको छ ।

बजारमा रहेका अन्य साना इन्टरनेट प्रदायकहरूले ग्राहक तान्न प्रयोग गर्ने ‘प्रिडेटरी प्राइसिङ’ (अस्वभाविक सस्तो मूल्य) र ठूला टेलिकम कम्पनीहरूसँगको प्रतिस्पर्धा वल्र्डलिंकका लागि एक प्रमुख चुनौतीका रूपमा रहेको छ । यसले गर्दा प्रति ग्राहक औसत आम्दानीमा दबाब परिरहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको रेटिङ पहिलेको तुलनामा सुधार भएको छ । दीर्घकालीन र अल्पकालीन दुवै कर्जाका लागि गराएको रेटिङमा सुधार भएर क्रमशः केयर एनपी एप्लस र केयर एनपी एवान कायम भएको हो । साथै, कम्पनीले बैंकहरूबाट लिने कर्जाको सीमा पनि ३ अर्ब ९४ करोडबाट घटाएर २ अर्ब ७६ करोड रुपैयाँमा झारेको छ, जसले कम्पनीको ऋणमा कम निर्भर हुने रणनीतिलाई संकेत गर्छ ।

Skip This