
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर खरिद–बिक्रीमा कडाइ गरेको छ ।
केन्द्रीय बैंकले संस्थापक सेयर खरिदबिक्री तथा नामसारी गर्नका लागि नयाँ व्यवस्था थप गरेको हो ।
कुनै पनि व्यक्ति वा संस्थाले चुक्ता पुँजीको कुल ५ प्रतिशत वा सोभन्दा बढी, अथवा कुल २५ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा आफ्नो विस्तृत व्यक्तिगत तथा वित्तीय विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ ।
सेयर खरिद गर्ने वास्तविक धनी वा हिताधिकारीको पहिचान सुनिश्चित गर्न राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विवरण बुझाउने क्रममा सम्बन्धित व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र पारिवारिक विवरण मात्र नभई नेपाल वा विदेशमा कुनै पनि प्रकारको कसुरमा संलग्न भए वा नभएको बारेमा समेत स्वघोषणा गर्नुपर्नेछ ।
त्यस्तै कुनै पनि मुद्दा–मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीको अवस्थामा रहेको भए त्यसको समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको हो ।
लगानीकर्ताले अदालत वा कुनै अधिकारप्राप्त अधिकारीको फैसलाअनुसार बुझाउनुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता रहे/नरहेको र स्वदेश वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे/नपरेको बारेमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसका साथै नेपाली नागरिकको हकमा नेपालबाहिर कुनै सम्पत्ति रहेको भए वा त्यस्ता सम्पत्तिको वास्तविक धनी भए सोको विवरण पनि खुलाउनुपर्नेछ । लगानीकर्ताको विगतको कार्यानुभव, आबद्ध रहेका संस्था, प्राप्त जिम्मेवारी, पुरस्कार वा सजायको अवस्था र समग्र वित्तीय आचरणको बारेमा समेत बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
सेयर खरिद गर्ने पक्ष कुनै संस्था हो भने उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर लगानी गर्ने वास्तविक धनीले पनि यी सबै व्यक्तिगत विवरणहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्था नयाँ लगानीकर्ताका लागि मात्र नभई निर्देशन जारी हुनुभन्दा अघि नै तोकिएको सीमाभन्दा बढी सेयर धारण गरिरहेका विद्यमान सेयरधनीहरूका लागि समेत लागू हुने निर्देशनमा उल्लेख छ ।
पहिले बुझाइएको विवरणमा कुनै पनि प्रकारको परिवर्तन आएमा सोको जानकारी तुरुन्तै सम्बन्धित बैंकमा गराएर विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।






प्रतिक्रिया