
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकीय तहमा नियुक्त हुने पदाधिकारीहरूका लागि व्यक्तिगत तथा वित्तीय पारदर्शिता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ अधिकारीहरूको नियुक्ति वा मनोनयन गर्दा उनीहरूको विस्तृत व्यक्तिगत र व्यावसायिक विवरण अनिवार्य रूपमा संकलन गरी केन्द्रीय बैंकमा पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।
सबै बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र पूर्वाधार विकास बैंकलाई पनि उक्त व्यवस्था लागू हुनेछ ।
बैंक तथा वित्तीय संस्थाका सम्बन्धित पदाधिकारीले प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा गर्नुका साथै आफ्नो पारिवारिक विवरण समेत उपलब्ध गराउनुपर्नेछ ।
पदाधिकारीहरूले नेपाल वा विदेशमा कुनै पनि फौजदारी कसुरमा संलग्न भए-नभएको र कुनै मुद्दा-मामिला, अनुसन्धान वा न्यायिक प्रक्रियामा रहेको भए सोको विस्तृत विवरण खुलाउनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै उनीहरूले स्वदेश वा विदेशमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परे-नपरेको र अदालतको फैसला अनुसार सरकारी राजस्व वा बक्यौता तिर्न बाँकी रहे-नरहेको बारेमा समेत जानकारी दिनुपर्नेछ ।
बैंकिङ क्षेत्रको सुशासनलाई थप मजबुत बनाउन राष्ट्र बैंकले पदाधिकारीहरूको सम्पत्ति र स्वार्थको द्वन्द्वमा समेत निगरानी बढाएको छ ।
नेपाली नागरिकको हकमा नेपाल बाहिर कुनै सम्पत्ति रहेको भए वा कुनै सम्पत्तिको वास्तविक धनी र हिताधिकारी भएको भए सोको विवरण समेत बुझाउनुपर्नेछ । साथै, सम्बन्धित संस्थासँग हुन सक्ने सम्भावित स्वार्थको द्वन्द्व र व्यक्तिको वित्तीय आचरण सम्बन्धी विवरण समेत पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा पदाधिकारीहरूको कार्यक्षमता र अनुभवलाई पनि समेटिएको छ । बैंकका पदाधिकारीहरूले विगतमा संलग्न भएका संस्था, प्राप्त जिम्मेवारी, पुरस्कार, सजाय र कार्य सफलताका उदाहरणसहितको विस्तृत कार्य अनुभव पेस गर्नुपर्नेछ ।
यो व्यवस्था नयाँ नियुक्त हुनेका लागि मात्र नभई निर्देशन जारी हुँदाका बखत पदमा बहाल रहेका सञ्चालक र उच्च व्यवस्थापकहरूको हकमा पनि लागू हुनेछ । यदि बुझाइएको विवरणमा पछि कुनै परिवर्तन आएमा सोको अद्यावधिक जानकारी समेत तत्काल राष्ट्र बैंकमा पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।






प्रतिक्रिया