
काठमाडौं । सूचना तथा प्रसारण विभागले समयमा इजाजतपत्र नवीकरण नगर्ने र प्रसारण तथा वितरण शुल्क नबुझाउने सातवटा सञ्चार संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले एक सूचना जारी गर्दै गोर्खा मिडिया नेटवर्क र अन्नपुर्ण ब्रोडकाष्ट मिडिया प्रालि सहितका संस्थाहरूलाई सात दिनभित्र सम्पर्क गर्न र बाँकी बक्यौता रकम बुझाउन निर्देशन दिएको हो ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार इजाजतपत्रको अवधि एक आर्थिक वर्ष हुने र सो अवधि समाप्त हुनुअगावै नवीकरण गराउनुपर्ने प्रावधान छ ।
तोकिएको समयमा नवीकरण नगराएमा ६ महिनासम्म जरिवाना तिरेर नवीकरण गर्न सकिने र सो अवधिमा पनि नगराएमा इजाजतपत्र स्वतः रद्द हुने कानुनी व्यवस्था छ ।
विभागका अनुसार गोर्खा मिडिया नेटवर्कसहितका सात संस्थाहरूले नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयको निर्देशन र विभागको अघिल्लो पत्राचार अनुसार पनि ती संस्थाहरूले हालसम्म रकम दाखिला नगरेको सूचनामा उल्लेख छ ।
नवीकरण नगर्ने र बक्यौता नबुझाउनेमा गोर्खा मिडिया नेटवर्क प्रालि, उपकार मिडिया ग्रुप प्रालि, बलभद्र मिडिया प्रालि, अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालि, सयपत्री मिडिया प्रालि, सोसाइटल मिडिया प्रालि र टिम टेलिभिजन प्रालि छन् ।
विभागले सूचना प्रकाशित भएको मिति २०८३ असार ४ गतेबाट सात दिनभित्र नियमअनुसारको नवीकरणका लागि विभागमा सम्पर्क गर्न र अघिल्लो पत्रबमोजिमको बक्यौता रकम दाखिला गर्न अन्तिम पटक अनुरोध गरेको छ । तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे थप कानुनी कारबाही अघि बढाइने विभागले जनाएको छ ।






प्रतिक्रिया