प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्छः सांसद मल्ल


काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने माग गरे ।

सांसद मल्लले विगत तीन हप्तादेखि प्रतिपक्ष निरन्तर सङ्घर्षमा रहेको उल्लेख गर्दै बहुमतको बलमा प्रतिनिधि सभाको नियमावली पारित गरिएको भन्दै आपत्ति जनाए ।

संविधानको मर्मविपरीत नियमावलीका दफाहरू ल्याइएको र त्यसमा संवादको वातावरण नबनाइएको उनको आरोप थियो । प्रधानमन्त्रीले संसदको रोस्टमबाट व्यक्त गरेका कतिपय शब्दहरू राष्ट्रियता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको दाबी गरे । सांसद मल्लले सरकारको कार्यशैली र भाषाप्रति पनि कडा प्रश्न उठाए ।

सरकारले नागरिक, विपक्षी र भुइँमान्छेहरूसँग प्रयोग गर्ने भाषा प्रतिशोधपूर्ण र अमर्यादित बन्दै गएको उनको भनाइ थियो । सरकारी संयन्त्र र कर्मचारीहरूबाट सर्वसाधारणमाथि भइरहेको व्यवहारले लोकतन्त्र र संवैधानिक व्यवस्था नै जोखिममा पर्नसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

सांसद मल्लले भने, ‘प्रधानमन्त्रीज्यूले देशको सीमाना र सार्वभौमसत्ताका विषयमा जुन त्रुटिपूर्ण अभिव्यक्ति दिनुभएको छ, ती शब्दहरू फिर्ता लिइनुपर्छ । उहाँले रोस्टममा उभिएर देश र जनतासँग माफी माग्नुपर्छ र ती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्छ ।’

सांसद मल्लले प्रधानमन्त्री कार्यालयबाट शक्ति र सत्ताको दुरुपयोग भइरहेको गम्भीर आरोप लगाए । संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर कसैलाई थुनछेक वा कारबाही गर्न दबाब दिने गरिएको चर्चाप्रति ध्यानाकर्षण गराए ।