एनसेलले दूरसञ्चार सेवाको व्यापारबाट साढे ३२ अर्ब कमाउँदा राज्यलाई बुझायो साढे १४ अर्ब


काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा गरेको टेलिकम क्षेत्रको व्यापारबाट ९ महिनामा साढे ३२ अर्ब रुपैयाँको व्यापार गर्दा सरकारलाई मात्रै साढे १४ अर्ब रुपैयाँ बुझाएको छ । राज्यलाई बुझाएको यस्तो रकम ऐनसेलको साउदेखि चैतसम्मको कुल व्यापारकै ४५ प्रतिशत भएको देखिएको छ ।

एनसेलले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत )सम्ममा नेपाल सरकार तथा टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको यस्तो रकम १४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

एनसलेलले उपलब्ध गराएको तथ्यांक अनुसार ३२ अर्ब ४८ करोड रुपैयाँको व्यापार गर्दा सरकार तथा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई कुल १४ अर्ब ५९ करोड रुपैयाँ कर र शुल्क बुझाएको हो ।

एनसेलले बुझाएको करको विवरणअनुसार चालु आवमा जिएसएम लाइसेन्स शुल्क मात्रै ३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । गत वर्ष भदौ १६ मा थप ५ वर्षको लागि इजाजतपत्र नवीकरण गरेको एनसेलले अबको ४ वर्षभित्रै सरकारलाई २० अर्ब रुपैयाँ बुझाउनुपर्छ ।

सोही शुल्कको किस्तावापत ऐनसेलले सरकारलाई यो वर्षको चैतसम्ममा लाइसेन्स शुल्कको दोस्रो किस्ता वापतको उक्त रकम इजाजत शुल्क शीर्षकमा बुझाएको हो ।

एनसेलले सरकारलाई बुझाएको शुल्क र करको विवरण

.नं.शीर्षकरकम (रुपैयाँमा)
जिएसएम लाइसेन्स शुल्क३ अर्ब २९ करोड
दूरसञ्चार सेवा शुल्क२ अर्ब १२ करोड
फ्रिक्वेन्सी शुल्क१ अर्ब ९६ करोड
मूल्य अभिवृद्धि कर१ अर्ब ७४ करोड
रोयल्टी१ अर्ब २९ करोड
अग्रिम कर१ अर्ब २५ करोड
भन्सार महसुल१ अर्ब ८० लाख
टीडीएस८९ करोड ५४ लाख
ग्रामीण दूरसञ्चार विकास कोष ६४ करोड ९६ लाख
१०स्वामित्व कर ३४ करोड ९८ लाख
११आईएसपी अनुमति पत्र२ लाख ७० हजार
कुल जम्मा१४ अर्ब ५९ करोड

यो संस्थाले दूरसञ्चार सेवा शुल्कबापत २ अर्ब १२ करोड बुझाएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट टेलिफोन, मोबाइल, इन्टरनेट लगायतका सेवा उपलब्ध गराउँदा ग्राहकबाट लिने महसुलमै १० प्रतिशत यस्तो शुल्क उठाएर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

यो सेवाप्रदायकले सरकारलाई फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ बुझाएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ अर्ब ७४ करोड र रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ सरकारी खातामा जम्मा गरेको जानकारी दिएको छ ।

यसले रोयल्टी १ अर्ब २९ करोड रुपैयाँ दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । दूरसञ्चार ऐन अनुसार सेवाप्रदायकले कुल आम्दानीकै ४ प्रतिशत रोयल्टी नियामक निकायलाई बुझाउनुपर्छ ।

सरकारलाई एनसेलले बुझाएको अग्रिम कर १ अर्ब २५ करोड, भन्सार महसुल १ अर्ब ८ लाख, स्रोतमा करकट्टी (टीडीएस) ८९ करोड ५४ लाख, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापत ६४ करोड ९६ लाख, स्वामित्व कर वापत ३४ करोड ९८ लाख र इन्टरनेट सेवाप्रदायक (आईएसपी)को अनुमति पत्रवापत २ लाख ७० हजार रुपैयाँ बुझाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जेठमा सार्वजनिक गरेको २०८३ वैशाखसम्मको तथ्यांकअनुसार एनसेलका कुल १ करोड ४० लाख ३९ हजार ३०२ ग्राहक छन् । तीमध्ये मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने १ करोड २२ लाख १६ हजार २२५ छन् भने फोरजी सेवा चलाउने ग्राहकको सङ्ख्या १ करोड २१ लाख २५ हजार ५५४ छन् ।