
एजेन्सी । विश्वकप फुटबल २०२६ मा स्पेन र केप भर्डेबीचको खेलमा देखिएको दृश्यले संसारभरका फुटबल प्रेमीको मन जितेको छ । एकातिर विश्वविजेता स्पेनका स्टार खेलाडीहरू थिए अर्कोतिर ४० वर्षका भेट्रान गोलकिपर भोजिन्हा ।
खेल सकिएपछि मैदानमा स्कोर बोर्डले ‘०–०’ देखाउँदा केप भर्डेका यी गोलकिपर मैदानमै रोए । उनलाई उनका साथीहरूले काँधमा बोकेर खुसीयाली मनाए । ४० वर्षको उमेरमा स्पेनजस्तो शक्तिशाली टोलीलाई गोल गर्न नदिई क्लिन सिट राख्नु कुनै चमत्कारभन्दा कम थिएन ।
भोजिन्हाको वास्तविक नाम जोसिमार जोसे इभोरा डियास हो । उनी अहिले पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेसबाट व्यावसायिक फुटबल खेल्छन् । आफ्नो खेल जीवनमा उनले अंगोला, मोल्डोभा, साइप्रस र स्लोभाकियाका विभिन्न क्लबहरूबाट गोलकिपिङ गरिसकेका छन् ।
४० वर्षको उमेरमा विश्वकप खेल्नु र त्यसमा पनि प्लेयर अफ द म्याच हुनु उनको खेल जीवनको सबैभन्दा ठूलो सफलता हो ।
पोर्चुगिज भाषामा भोजिन्हाको अर्थ सानी हजुरआमा भन्ने हुन्छ । उनलाई यो नाम उनकै हजुरबुवा–हजुरआमाले दिएका थिए । भोजिन्हाका बुवा सैनिक थिए र आमा काममा व्यस्त हुन्थिन् । त्यसैले उनको बाल्यकाल धेरैजसो हजुरबुवा–हजुरआमाको काखमा बित्यो ।
उनी फुटबल खेल्न अंगोला पुग्दा त्यहाँ पहिले नै जोसिमार नामका अर्का गोलकिपर थिए । उनले आफ्नो जर्सीमा जोसिमार–२ लेख्नुभन्दा आफ्नो प्यारो उपनाम भोजिन्हा लेख्न रुचाए । आज विश्वभर उनी यही नामले चिनिएका छन् ।
मैदानमा जादुमयी बचाउ गरेपछि भोजिन्हा निकै भावुक देखिएका थिए । पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म निकै गौरवान्वित छु । आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो ।’
उनको आँसुका पछाडि व्यक्तिगत पीडा पनि थियो । उनले थपे, ‘म रोएँ किनभने म मेरा हजुरबा–हजुरआमासँगै हुर्किएँ । तर, आज यो खुसी हेर्न उहाँहरू हुनुहुन्न । केही वर्षअघि नै उहाँहरूको निधन भयो । मेरो जीवनमा उहाँहरूले सबैथोक गरिदिनुभयो ।’
यति मात्र नभई भिसाको समस्या र पैसाको अभावका कारण उनकी आमा पनि छोराको यो ऐतिहासिक खेल हेर्न अमेरिका पुग्न सकिनन् । ‘समयमै भिसाको लागि पैसा जम्मा हुन सकेन तर म चाहन्थें उहाँ यहाँ हुनुभएको भए,’ भोजिन्हाले भावुक हुँदै भने ।
स्पेनसँगको बराबरीपछि भोजिन्हाको चर्चा चुलिएको छ । खेल सुरु हुनुअघि इन्स्टाग्राममा उनका करिब ५ लाख फलोअर्स थिए तर खेल सकिएको केही घण्टामै यो संख्या ५० लाख पुग्यो ।
फ्रान्सेली स्टार पल पोग्बाले समेत सामाजिक सञ्जालमा उनको प्रशंसा गर्दै लेखेका छन्, ‘केप भर्डेका गोलकिपर साँच्चै गज्जबका छन्, वाउ !’
केप भर्डे विश्वकपमा छनोट भएको तेस्रो सबैभन्दा सानो राष्ट्र हो । तर, भोजिन्हाको प्रदर्शनले खेलमा उमेर र देशको आकारले नभई अठोट र मिहिनेतले नतिजा दिन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ । ४० वर्षको उमेरमा हजुरआमा उपनाम बोकेका यी खेलाडी आज विश्वकपका नयाँ नायक बनेका छन् ।











प्रतिक्रिया