इरानको पुनर्निर्माणका लागि ३०० अर्ब खर्च गर्दै ट्रम्प ?


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ठूलो रकम भुक्तानी गर्ने दाबी गरिएको एक रिपोर्टलाई अस्वीकार गरेका छन् । उनले ती दाबीहरूलाई ‘डुमोक्रेट्स’ द्वारा प्रचार गरिएको भ्रामक समाचार भनेका छन् ।

‘अमेरिकाले इरानलाई ३०० अर्ब डलर तिर्दैछ भन्ने कथा डुमोक्रेट्सले फैलाएको फेक न्युज हो,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्प प्रशासनले ३०० अर्ब डलरको कोष बनाउने बारे सोचिरहेको फाइनान्सियल टाइम्सले रिपोर्ट सार्वजनिक गरेपछि ट्रम्पको यो खण्डन आएको हो । उक्त कोषको उद्देश्य इरानी सरकारलाई सीधै पैसा दिनुको सट्टा इरानमा प्रवेश गर्न चाहने कम्पनीहरूलाई लगानीमा सहजता प्रदान गर्नु रहेको बताइएको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, प्रस्तावित कोष इरानले द्वन्द्व अन्त्यका लागि अन्तिम सम्झौतामा सहमत हुनुपर्ने शर्तमा आधारित हुनेछ जसमा वाशिङटनसँगको आणविक सम्झौता पनि समावेश छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त पत्रिकालाई बताएअनुसार प्रशासनले प्रतिबन्धहरूमा छुट दिने सम्भावना र उनीहरूको देश पुनः निर्माणका लागि ३०० अर्ब डलरको ठूलो कोषका बारेमा छलफल गरेको थियो ।

ती सुविधाहरू शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुने अपेक्षा गरिएको समझदारी पत्रको पालनामा इरानको कार्यसम्पादनसँग जोडिने अधिकारीले बताए ।

वार्ताका बारेमा जानकारी पाएका एक व्यक्तिलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेअनुसार ६० दिनको युद्धविराम थप, हर्मुज जलयोजक पुनः खोल्ने र आणविक सम्झौतामा थप वार्ता भएपछि मात्र कोषको स्थापना हुनेछ । यो पैसा सरकारहरूबाट आउने नभई इरानमा लगानी गर्न इच्छुक कम्पनीहरूका लागि सिर्जना गरिने ती व्यक्तिले थप स्पष्ट पारेका छन् ।

‘युरोप, एसिया, दक्षिण कोरिया, जापान लगायतका धेरै व्यवसायहरू र अमेरिकी कम्पनीहरूको पनि यसमा चासो छ,’ ती व्यक्तिले फाइनान्सियल टाइम्सलाई भने, ‘प्रतिबन्धहरू हटाइयो भने यो कोषको रकम निकै ठूलो र प्रभावशाली हुनेछ ।’

अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले पनि पुनः निर्माण कोषमा पहुँच तेहरानले कुनै पनि अन्तिम सम्झौताको पालना गरे÷नगरेकोमा निर्भर हुने संकेत गरेका छन् । फाइनान्सियल टाइम्सका अनुसार, उनले ३०० अर्ब डलरको कोष इरानले पहुँच पाउन सक्ने कुरा हो… जबसम्म उनीहरूले आफ्नो पक्षको जिम्मेवारी पूरा गर्छन् भने ।

विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने लगायतका कुनै पनि प्रतिबन्ध छुटको घोषणा चरणबद्ध रूपमा गरिने र यो आणविक वार्ताको प्रगति र अन्तिम सम्झौतामा निर्भर रहने पत्रिकाले उल्लेख गरेको छ । तर, ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले विश्वास निर्माणका उपायका रूपमा सुरुमा आर्थिक राहतका साना संकेतहरू दिन सक्ने बताएका छन् ।

ट्रम्प, भ्यान्स र इरानका सभामुख मोहम्मद बागेर गालिबाफले टाढैबाट दस्तावेजमा हस्ताक्षर गरेदेखि इरानमा शून्य डलर गएको कुरामा एक वरिष्ठ अधिकारीले जोड दिएका छन् । अर्का एक अधिकारीले प्रतिबन्ध छुट कुनै खास आचरणसँग मात्र जोडिएको नभई इरानको उचित व्यवहारसँग सम्बन्धित रहेको बताए । उनले थपे, ‘हामीले सबैभन्दा बढी चासो राखेको विषय आणविक कार्यक्रम हो ।’

Skip This