
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहकार्य हुने भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी विभिन्न समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो ।
छलफलका क्रममा प्रमुख काफ्लेले नाडा र ट्राफिक कार्यालयबीच सिर्जनशील र दीर्घकालीन उद्देश्यका साथ सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनले पहाडी क्षेत्रका लागि उपयुक्त हुने ठूला सिसिका बाइकहरू सहरभित्र चल्दा दुर्घटनाको जोखिम बढेको भन्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने तथ्य औंल्याए । काफ्लेले नाडालाई उपत्यकामा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्न समेत आग्रह गरे ।
यसैगरी, सवारी साधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरमा आउने व्यक्ति र पहिलो पटक लाइसेन्स लिनेहरूका लागि ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको छोटो प्रशिक्षण लिने व्यवस्था गर्न प्रमुख काफ्लेले प्रस्ताव गरे । यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
भेटका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विगतमा पनि ट्राफिक प्रहरीसँग नाडाले सहकार्य गर्दै आएको स्मरण गरे ।
उनले नाडाको ५०औँ वार्षिक साधारण सभा (स्वर्ण उत्सव) को अवसरमा आगामी असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा ‘विशेष सप्ताहव्यापी कार्यक्रम’ आयोजना गर्न लागिएको जानकारी दिए ।
उक्त कार्यक्रमलाई भव्य बनाउन ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले आवश्यक सहयोगका लागि अनुरोध गरे । नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतना फैलाउने योजना समेत बनाएको उनले बताए ।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले संस्थाले पहिलेदेखि नै ट्राफिक प्रहरीसँग समन्वय गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन चाहेको धारणा राखे ।
उक्त अवसरमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालले समेत ट्राफिक व्यवस्थापन र सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए ।











प्रतिक्रिया