६७ अर्ब ९३ करोडको बजेट ल्याएको बागमती प्रदेशले ‘पहिले मर्मत, त्यसपछि निर्माण’ कार्यक्रमलाई ७४ करोड छुट्यायो


काठमाडौं । ६७ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको बागमती सरकारले ‘पहिले मर्मत, त्यसपछि निर्माण’ नीतिअन्तर्गत सडक मर्मतका लागि ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो जसमा यस्तो कार्यक्रम राखिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका स्थानीय तहका लागि ६ अर्ब ५१ करोड रुपैयाँ विनियोजन भएको घोषणा गरेका छन्। बजेटमा अति विपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न २० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश खर्चमा मितव्ययिता अपनाउँदै मन्त्रालय तथा निकायहरूको पुनर्संरचनामार्फत चालु खर्चमा ११ प्रतिशत बचत गर्ने लक्ष्य लिइएको छ ।

बागमती प्रदेश सभाको एकीकृत प्रशासनिक भवन, प्रदेश सभा भवन र आवास निर्माणका लागि ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश राजधानी हेटौंडालाई बृहत्तर हेटौंडा अवधारणाअनुसार साइकल लेनसहित पैदलयात्रामैत्री सडक, नदी करिडोर तथा प्रादेशिक सांस्कृतिक ग्राम विकासका कार्यक्रम अघि बढाइने भएको छ ।

प्रदेशको कुल बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा चालुतर्फ करिब २६ अर्ब ४ करोड र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

बजेटका लागि कर राजस्वबाट ३० अर्ब १५ करोड, अन्य राजस्वबाट ७ अर्ब ६३ करोड, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड, चालु आर्थिक वर्षको बचतबाट १२ अर्ब ७६ करोड र ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिएको छ । चालु आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याइएकोमा ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।