
एजेन्सी । भारतको प्रदूषण नियामकले एप्पलको आइफोनका लागि पाटपुर्जा बनाउने टाटाको एउटा कारखानाबाट निस्किएको फोहोर पानीले नजिकैका खेतहरूको भूमिगत जल प्रदूषित बनाएको आरोप लगाएको छ । टाटाले सन्तोषजनक स्पष्टीकरण नदिएमा कारखाना जबर्जस्ती बन्द गराइने चेतावनी दिएको छ ।
चीन बाहिर आइफोन उत्पादनलाई विविधीकरण गर्ने एप्पलको योजनामा भारतको टाटा इलेक्ट्रोनिक्स प्रमुख भूमिकामा छ र यो ताइवानको फक्सकनपछि दक्षिण एसियामा एप्पलको दोस्रो ठूलो आपूर्तिकर्ता हो ।
छानबिनको घेरामा रहेको टाटाको यो कारखाना दक्षिणी राज्य तमिलनाडुको होसुरमा छ । त्यसले आइफोनका लागि ब्याक प्यानल र अन्य पाटपूर्जा बनाउँछ । कारखाना नजिकैका जग्गाधनीहरूले विगत केही महिनादेखि तमिलनाडु प्रदूषण नियन्त्रण बोर्डमा कारखानाको फोहोर पानीले उनीहरूको जमिन र खुला इनारहरू प्रदूषित गरिरहेको भन्दै गुनासो गर्दै आएका थिए ।
अहिलेसम्म सार्वजनिक नभएको मे २५ तारिखको नियामक सूचना र रोयटर्सले अध्ययन गरेको विवरण अनुसार, ती उजुरीहरूका आधारमा डिसेम्बर २०२५ र मे २०२६ को बीचमा राज्यले पाँचपटक निरीक्षण गरेको थियो ।
टाटालाई पठाइएको प्रदूषण बोर्डको चेतावनी सूचनामा भनिएअनुसार, निरीक्षणका क्रममा टाटाले आफ्नो कारखानाभित्रै रहेको आकासे पानी संकलन गर्ने पोखरीमा फोहोर पानी विसर्जन गरेको पाइयो र सो पोखरी भरिएर पोखिँदा नजिकैको कृषि भूमिमा रहेका खुला इनारहरूको भूमिगत जल प्रदूषित हुन पुग्यो ।
तीन पानाको सो सूचनामा भनिएअनुसार डिसेम्बर २३, २०२५ को अघिल्लो पत्रमार्फत प्रदूषण बोर्डले दिएका निर्देशनहरूमा टाटाले कुनै पनि सुधारात्मक कदम चालेको थिएन ।
टाटा इलेक्ट्रोनिक्सले रोयटर्सलाई एक विज्ञप्ति जारी गर्दै आफूले मान्यता प्राप्त प्रयोगशाला मार्फत स्वतन्त्र विश्लेषण गराएको र सो अध्ययनले कम्पनीले सबै नियामक मापदण्डहरूको पूर्ण पालना गरेको ठहर गरेको बताएको छ ।
टाटाले आफू जिम्मेवार व्यावसायिक अभ्यास र वातावरण एवं स्थानीय समुदायको संरक्षणप्रति प्रतिबद्ध रहेको बताएको छ र थप विवरण नदिई प्रदूषण अधिकारीहरूलाई जवाफ पठाइसकेको जानकारी दिएको छ ।
प्रदूषण बोर्डले मे महिनाको आफ्नो सूचनामा टाटालाई नियमहरूको कथित उल्लंघनका लागि किन उक्त एकाइको बिजुली नकाट्ने र एकाइ बन्द नगर्ने भन्नेबारे स्पष्टीकरण दिन भनेको छ ।
आफ्ना आपूर्तिकर्ताहरूले फोहोर पानी कसरी व्यवस्थापन गर्छन् भन्नेबारे कडा नियम राख्ने एप्पल र तमिलनाडु सरकारले रोयटर्सको टिप्पणीका लागि गरिएको अनुरोधमा कुनै प्रतिक्रिया दिएनन् ।
भारतमा कम्पनीहरूले प्रायः प्रदूषण अधिकारीहरूबाट अनुशासनात्मक कारबाही भोग्नुपर्ने हुन्छ । सन् २०२४ मा वातावरणीय कानुनको पालनामा त्रुटिहरू भेटिएपछि मर्सिडीज–बेन्जले भारतमा रहेको आफ्नो एकमात्र कार कारखानामा फोहोर पानी र वायु प्रदूषण व्यवस्थापनमा सुधार गरेको थियो ।
भारतको वातावरण मन्त्रालयले फेब्रुअरीमा संसद्लाई जानकारी दिए अनुसार विगत पाँच वर्षमा ५ लाख ४४ हजार ३ सय ६४ उद्योगहरू मध्ये ४.४ प्रतिशत उद्योगहरू वातावरणीय मापदण्ड पालना नगरेको अवस्थामा भेटिएका थिए र प्रदूषण नियन्त्रण विभागहरूले ३६ सयवटा उद्योग बन्द गराएका थिए ।
टाटालाई पठाइएको यस सूचनाले एप्पलको भारतमा रहेको आपूर्ति शृंखलालाई पछ्याइरहेका समस्याहरूको श्रृंखलामा अर्को एउटा कडी थपेको छ । सेप्टेम्बर २०२४ मा टाटाको होसुर कारखानामै भएको आगलागीले आइफोनका पाटपुर्जा उत्पादन केही समयका लागि रोकिएको थियो जबकि सेप्टेम्बर २०२३ मा पूर्व आपूर्तिकर्ता पेगाट्रोनको आईफोन कारखानामा भएको आगलागीले उत्पादन धेरै दिनसम्म बन्द गराएको थियो ।
सन् २०२४ मा रोयटर्सको एउटा अनुसन्धानले एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले भारतमा रहेको आफ्नो एउटा कारखानामा विवाहित महिलाहरूलाई व्यवस्थित रूपमा आईफोन एसेम्बलीको कामबाट बाहिर राखेको फेला पारेको थियो यद्यपि कम्पनीले त्यसबेला आफूले सबै कानुन पालना गरेको बताएको थियो ।
अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार, चार वर्षअघि मात्र ६ प्रतिशत रहेको भारतको आईफोन उत्पादन हिस्सा सन् २०२६ सम्ममा विश्वभरका कुल आइफोनको २६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।









प्रतिक्रिया