
एजेन्सी । विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले चोरी भएका आइफोनहरूको अवैध व्यापार र लुटपाट रोक्न एक महत्वपूर्ण ‘किल स्विच’ प्रविधि लागू गर्ने घोषणा गरेको छ।
एप्पलले आफ्नो ‘एक्टिभेसन लक’ फिचरलाई मोबाइलका भित्री पार्टपुर्जाहरूमा समेत विस्तार गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार, अब चोरी भएको आइफोनलाई टुक्रा-टुक्रा पारेर त्यसको स्क्रिन, ब्याट्री वा क्यामेरा जस्ता महँगा पार्टपुर्जाहरू अर्को मोबाइलमा प्रयोग गर्न मिल्ने छैन।
एप्पलको नयाँ सफ्टवेयर अपडेटसँगै आउने ‘पार्ट्स पेयरिङ’ प्रविधिले चोरीको फोनबाट निकालिएका पार्टपुर्जाहरूलाई पहिचान गर्नेछ। यदि कुनै मर्मत गरिएको फोनमा चोरीको मोबाइलको पार्टपुर्जा प्रयोग गरियो भने, त्यसले काम गर्ने छैन र प्रयोगकर्तालाई उक्त पार्ट मौलिक नभएको चेतावनी दिनेछ।
विगत केही समयदेखि लण्डन लगायत विश्वका विभिन्न सहरहरूमा सडकमा मोबाइल खोस्ने घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। चोरहरूले चोरीका आइफोनहरू अनलक गर्न नसके पनि तिनलाई खोलेर पार्टपुर्जाहरू महँगो मूल्यमा बेच्ने गरेका थिए।
एप्पलको यो नयाँ कदमले अब चोरीका ह्यान्डसेटहरूलाई अपराधीका लागि पूर्ण रूपमा ‘बेकामे’ वा ‘कवाड’ सरह बनाइदिने अपेक्षा गरिएको छ।
सुरक्षा अधिकारीहरू र अभियानकर्ताहरूले एप्पलको यो निर्णयलाई ‘गेम चेन्जर’ को संज्ञा दिएका छन्। उनीहरूका अनुसार जब चोरीका फोन र तिनका पार्टपुर्जाहरूको कुनै बजार मूल्य रहने छैन, तब सडकमा हुने मोबाइल लुटपाटका घटनामा उल्लेख्य कमी आउनेछ।
एप्पलले यो फिचर आफ्ना आगामी सफ्टवेयर अपडेटहरू मार्फत प्रयोगकर्तामाझ ल्याउने बताएको छ।









प्रतिक्रिया