मोबाइल र गेमिङ सेवा विस्तार गर्दै नेटफ्लिक्स, टिकटकमा जस्तै ‘क्लिप्स’ र नयाँ गेमहरू थपिने

49
Shares

एजेन्सी । नेटफ्लिक्सले एसिया-प्रशान्त क्षेत्रमा आफ्नो मोबाइल अनुभव र गेमिङ सेवालाई थप सुदृढ बनाउने योजना सार्वजनिक गरेको छ।

हालै आयोजित ‘एपाक प्रोडक्ट इनोभेसन शोकेस’ का क्रममा कम्पनीले आफ्नो परिमार्जित मोबाइल एपलाई थप देशहरूमा लैजाने र बालबालिकाहरूका लागि लक्षित गेमिङ हब ‘नेटफ्लिक्स प्लेग्राउन्ड’लाई विस्तार गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार परिमार्जित मोबाइल एप यसअघि नै अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, भारत र मलेसियामा उपलब्ध भइसकेको छ।

अब जुलाई महिनादेखि दक्षिण कोरिया र जापानमा पनि यो एप सार्वजनिक गरिनेछ भने आगामी दिनमा अन्य एसियाली बजारहरूमा पनि यसलाई विस्तार गरिने योजना छ।

यस नयाँ डिजाइनको मुख्य आकर्षण ‘क्लिप्स’ फिचर हो। टिकटक जस्तै ‘भर्टिकल’ शैलीमा देखिने यो फिचरले प्रयोगकर्ताहरूलाई नेटफ्लिक्सका फिल्म र सिरिजका छोटा र रोचक अंशहरू हेर्ने सुविधा दिन्छ, जसले गर्दा समय अभाव भएका बेला पनि दर्शकहरूले मनोरञ्जन लिन सक्छन्।

कम्पनीले अब यी क्लिपहरूलाई मुड, विधा र रुचिका आधारमा विभिन्न थिममा वर्गीकरण गरेर परीक्षण गर्ने तयारी समेत गरेको छ।

स्ट्रिमिङका साथै नेटफ्लिक्सले गेमिङ क्षेत्रमा पनि ठूलो लगानी गरिरहेको छ। कम्पनीले बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको गेमिङ हब ‘नेटफ्लिक्स प्लेग्राउन्ड’ मा चर्चित एनिमेटेड म्युजिकल फिल्म ‘केपप डेमन हन्टर्स’ लाई समावेश गर्ने भएको छ।

यो फिल्मले रिलिज भएको ६ महिनाभित्रै ५१८ मिलियनभन्दा बढी ‘भ्युज’ पाएर ठूलो सफलता हासिल गरेको थियो। अब यस फिल्ममा आधारित ६ वटा मिनी-गेमहरू सार्वजनिक गरिनेछ, जसले बालबालिकाहरूलाई फिल्मका पात्र र कथासँग सिधै अन्तरक्रिया गर्ने मौका दिनेछ।

गत अप्रिलमा अमेरिका, क्यानडा र बेलायतबाट सुरु गरिएको यो प्लेग्राउन्ड सेवालाई नेटफ्लिक्सले अब विश्वव्यापी रूपमा विस्तार गर्न खोजेको छ। स्ट्रिमिङ सेवाका साथै छोटा भिडियो र गेमिङ सामग्रीलाई एकीकृत गर्दै नेटफ्लिक्सले प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा थप समय टिकाइराख्ने रणनीति अपनाएको देखिन्छ।