एमसीसी परियोजनाको २९७ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै, दुई सबस्टेशन शुभारम्भ

49
Shares


नुवाकोट । काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।

नुवाकोटको रातमाटेमा आयोजित एक विशेष समारोहका बीच २९७ किलोमिटर लामो प्रसारण लाइन र दुईवटा उच्च क्षमताका सबस्टेशन निर्माण कार्यको शिलान्यास गरिएको हो । संयुक्त राज्य अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानीमा सञ्चालित यस आयोजनाले नेपालको ऊर्जा ग्रीड सुदृढीकरण र क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आजदेखि औपचारिक रूपमा सुरु भएको निर्माण कार्यमा रातमाटे र नयाँ दमौलीमा ४०० केभी क्षमताका सबस्टेशनहरू रहेका छन् । २९७ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरिएको छ । जसअनुसार लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड (११७ किमि), रातमाटे–न्यू दमौली खण्ड (९० किमि) र न्यू दमौली–न्यू बुटवल खण्ड (९० किमि) रहनेछ ।

लान्यास समारोहमा बोल्दै अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा घनश्याम उपाध्यायले यस आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण लगानीका रूपमा रहने बताए । उनले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न र नेपालको विद्युत् सम्भाव्यताबाट लाभ लिन यो पूर्वाधार सुदृढ हुनु आवश्यक छ ।’

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस कम्प्याक्टलाई नेपालको ऊर्जा भविष्यको मेरुदण्डको संज्ञा दिए । उनले भने, ‘यसले घरपरिवारमा निरन्तर बिजुली पुर्‍याउने मात्र नभई कारखाना र कृषिको उत्पादन बढाउन मद्दत गर्नेछ, जसले नेपाली व्यवसायका लागि नयाँ अवसर खोल्नेछ ।’ नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यी पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालकै अभिन्न हिस्सा भएको उल्लेख गरे ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले यसलाई नेपालको ऊर्जा क्षेत्रको ‘कोशेढुङ्गा’ भन्दै यसले नेपाललाई क्षेत्रीय ऊर्जा बजारको प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने बताए । यस आयोजनामा चारवटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरू संलग्न रहेका छन् ।

रातमाटे र नयाँ दमौली सबस्टेशन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । प्रसारण लाइनतर्फ आशिष–बोझ्लर जेभी, एञ्जेलिक–स्किपर जेभी र वाइबा–सालसर जेभीले विभिन्न खण्डहरूको निर्माण गर्नेछन् ।

निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली सबस्टेशन नेपालकै सबैभन्दा ठूला सबस्टेशनमध्येमा पर्नेछन् । यी संरचनाले विद्युत् आपूर्तिमा हुने अवरोध न्यूनीकरण गर्ने र नेपालको ऊर्जा व्यापारलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न टेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।