निगमका ४ वटै अन्तर्राष्ट्रिय उडानका जहाजले नियमित उडान गरिरहेका र यो वर्ष ‘सेड्युल्ड मेन्टेनेन्स’मा जानु नपरेका कारण यात्रुसँगै व्यापारसमेत बढेको देखिएको छ । यो वर्ष निगममा नेतृत्व अभाव भए पनि जहाजमा कुनै प्राविधिक समस्या नभएकाले निगमको अतिरिक्त मेहनत गरेन । तर पनि नियमित उडानबाटै पछिल्लो १० महिनमा ५ लाख यात्रु उडाउन साढे १४ अर्बभन्दा बढीको व्यापार गरेको छ ।

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो १० महिनामा उल्लेख्य वृद्धि भएको छ । निगमले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्ममा १४ अर्ब ६९ करोड रुपैयाँ कमाएको छ । निगमले यात्रुलाई बिक्री गरेको हवाई टिकट तथा कार्गो सेवाबाट गरेको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २४.९१ प्रतिशतले बढी हो ।
निगमले गत वर्ष ११ अर्ब ७६ करोड रुपैयाँ यात्रु सेवा बिक्रीबाट गरेको व्यापारमा यो वर्ष २ अर्ब ९३ करोड रुपैयाँ थप भएको निगमले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकले देखाएको छ । निगमले यस्तो आम्दानीका लागि चालू आवको १० महिनामा ५ लाख ३६ हजार यात्रुलाई सेवा दिएको छ।
निगमको यस्तो आम्दानी गत आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्ष २०८०/८१ को तुलनामा भने १ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको थियो ।
वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार यो वर्ष निगमको अन्तर्राष्ट्रिय उडानका जहाजले नियमित उडान गरिरहेका छन् । चारवटै जहाज यो वर्ष नियमित सेड्युल्ड मेन्टेनेन्समा गएका छैनन् ।
उनका अनुसार दुई वर्षअगाडिको नियमित मर्मत आगामी असारमा वाइडबडीको हुन्छ भने न्यारोबडी आगामी आर्थिक वर्षमा मात्रै ‘सी-चेक’ मा जानेछ । गत आवको तुलनामा यो वर्ष निगमले दिल्लीमा उडान थप गरेको र उडान व्यवस्थापन मिलाएर यात्रु सेवा संख्या बढाउँदा व्यापार बढेको देखिएको पनि पुनले क्लिकमान्डुलाई जानकारी दिए ।
निगमको यात्रु उडान समेत गत वर्षको तुलनामा चालू आवको वैशाखसम्ममा ८७ हजारले बढेको छ । गत वर्ष निगमले उक्त अवधिमा ४ लाख ४९ हजार यात्रुलाई सेवा दिएको थियो ।
गत आर्थिक वर्षमा निगमको आन्तरिक उडानका जहाज लामो समय थन्किनु र अन्तर्राष्ट्रिय उडानका जहाज पनि मर्मतसम्भारका नाममा पालैपालो लामो समय थन्किनुको असर आम्दानीमा परेको थियो । चालू आवमा गत वर्षको तुलनामा यात्रु सेवा बढ्नु र व्यापारसमेत विस्तार हुनुलाई निगमले सकारात्मक रूपमा लिएको छ । आगामी आर्थिक वर्षमा अहिलेको यात्रु वृद्धिदर र व्यापारलाई अझै उचाइमा पुऱ्याउने रणनीति निगमले लिएको पनि पुनले बताए ।
निगमले गर्ने उडानमा आन्तरिकतर्फ जहाज अभाव भएको र सेवामूलक मात्रै उडान भएकाले जम्मा २१ हजार यात्रुलाई मात्रै सेवा दिएर १० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।
निगमको अन्तर्राष्ट्रिय उडानमा भने सबैभन्दा बढी यात्रु भारतको नयाँदिल्ली उडानमा हुने गरेका छन् । यो गन्तव्यमा गरेको उडानबाट निगमले १ लाख २६ हजार यात्रुलाई पछिल्लो १० महिनामा उडान सेवा दिँदा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
निगमको आम्दानीको सबैभन्दा आकर्षक गन्तव्य जापान हो । जापानको नारितामा गरेको उडानबाट निगमले पछिल्लो १० महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गन्तव्यमा साउनदेखि वैशाखसम्म ६४ हजार यात्रुलाई सेवा दिएको पनि निगमले जारी गरेको तथ्याङ्कले देखाएको छ ।
नेपाल वायुसेवा निगमको चालु आव २०८२/८३ को १० महिनाको यात्रु उडान र आम्दानी विवरण
| उडानका गन्तव्यहरु | १० महिनाको जम्मा यात्रु संख्या | १० महिनाको जम्मा आम्दानी (रु.) |
| आन्तरिक उडान | २१,६३८ | १०९,३३१,२९४ |
| जापान | ६३,२१९ | ४,८३८,४९६,५८१ |
| दुबाइ | ७९,७४२ | २,०९४,२६८,९८७ |
| दिल्ली | १२६,६६२ | १,२६२,२६५,२९२ |
| क्वालालम्पुर | ३९,५१७ | ८९७,७६१,१२६ |
| दोहा | ८६,६०५ | २,३२९,५१४,३०८ |
| बैंकक | २७,९४८ | ८१६,२७३,२६० |
| हङकङ | १५,७८९ | ६४४,०६३,८४९ |
| मुम्बै | २१,६५५ | २९३,११०,६२० |
| बैंगलोर | २४,०७१ | ५३५,७१२,५४८ |
| दमाम | १९,१५२ | ६१९,१२०,३०८ |
| ग्वान्जाओ | १०,०१३ | २५७,२७६,०२६ |
| जम्मा | ५३६,०११ | १४,६९७,१९४,१९९ |









प्रतिक्रिया