श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा पाण्डेको जोड

84
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औं सत्रलाई नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलवार सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त विचार राखेका हुन् । विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक साझेदारहरू माझ आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गरे ।

सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए तापनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौतीहरू कायमै रहेको तर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए । ‘नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ । यो चिन्ताको विषय हो,’ उनले भने, ‘लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्दछ ।’

उपाध्यक्ष पाण्डेले नेपालमा अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको बताए । यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए तापनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उनको भनाइ थियो ।

नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्था अनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनु पर्नेमा उनको जोड थियो ।

उनले नेपाली रोजगारदाताहरूका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकताहरू र कार्यान्वयन भइरहेका प्रयासहरूको विवरण समेत प्रस्तुत गरे । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदाताहरूमा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको बताए । यस अन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रहरूमा विशेष निर्देशिकाहरू निर्माण गरी प्रारम्भिक कार्यहरू सुरू भइसकेको जानकारी पाण्डले दिए ।

यसका साथै, महासंघले छनोट गरिएका उद्योगहरूमा ‘केयर मोडल’को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरू गरिसकेको भन्दै यसले विशेषगरी महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्य सम्बन्धी विश्वव्यापी छलफलहरूमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपाल जस्ता मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिए । त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र आपसी संवाद सुदृढ बनाउन रोजगारदाताहरूको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।

उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गरे । महासंघ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।