
काठमाडौं । चौधरी ग्रुपले म्यारियटका दुई नयाँ होटल नेपाल भित्र्याएको छ । ग्रुपले म्यारियटसँग द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौता गरेको हो ।
आइतबार एक कार्यक्रमका बीच म्यारियट इन्टरनेसनल इन्क र चौधरी ग्रुपबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
योसँगै म्यारियटको पोर्टफोलियोमा नेपालमा करिब ३०० वटा ‘की’ थपिने छन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौं प्रवेश गर्नेछन् ।
द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने बताइएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
चौधरी ग्रुप र म्यारियट इन्टरनेशनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य रहेको छ । यसले विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । सम्झौतापश्चात दुई कम्पनीको व्यवसायिक सम्बन्ध अझ विस्तार हुने विश्वास गरिएको छ । वेस्टिन काठमाडौं र रिट्ज–कार्लटन काठमाडौं नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालहरु, म्यारियट इन्टरनेशनल इन्कका एशिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेनन, म्यारियट इन्टरनेशनल इन्क दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोटलगायतको उपस्थिति रहेको थियो ।
यी दुई होटलसम्बन्धी सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो महत्वपूर्ण कदम हो ।
सम्झौतापश्चात म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीनबाहेक)का अध्यक्ष राजीव मेननले भने, ‘उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुशी छौं ।’ यी ऐतिहासिक परियोजनाहरूले म्यारियट इन्टरनेशनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउने सीजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘साथै, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने छन् । चौधरी ग्रुपको बलियो बजार अनुभव तथा नेपालको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धताले यी होटलहरूलाई क्षेत्रकै विशिष्ट हस्पिटालिटी गन्तव्य बनाउनेमा हामी विश्वस्त छौं,’ त्यहाँ उल्लेख छ ।

त्यसैगरी सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले म्यारियट इन्टरनेशनलसँगको सहकार्य नेपाल एवं दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताए ।
‘यी ऐतिहासिक परियोजनामा सहकार्य, विश्वास र साझा दृष्टिकोणका लागि हामी म्यारियट इन्टरनेशनलप्रति हार्दिक आभार व्यक्त गर्दछौं । काठमाडौंमा विकसित हुने यी परियोजनाहरूले म्यारियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डहरूलाई सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव र दिगो दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्ने छन् । हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्नेछौं । सीजी हस्पिटालिटी नेपालमै विश्वस्तरीय प्रपटिहरू विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्याउन प्रतिबद्ध छ,’ उनले भने ।
द रिट्ज–कार्लटन, काठमाडौं
नेपालमा यस ब्रान्डको पहिलो प्रवेशका रूपमा द रिट्ज-कार्लटन काठमाडौंले आफ्नो प्रसिद्ध सेवा तथा आकर्षक सौन्दर्यमार्फत पाहुनाहरूलाई राजधानीको प्रमुख क्षेत्र ठमेलमा उत्कृष्ट अनुभव प्रदान गर्ने छ । होटलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक रुम रहने छन । जसलाई उच्चस्तरीय तथा परिष्कृत अनुभव प्रदान गर्ने गरी डिजाइन गरिने छ ।
पाहुनाहरूले पाँच वटा फरक रेस्टुरेन्ट तथा बारमार्फत उत्कृष्ट खानाको अनुभव लिन सक्ने छन् । मनोरञ्जन सुविधाअन्तर्गत आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज-कार्लटन स्पा रहने छ ।
साथै, होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा सम्मेलन तथा कार्यक्रमका लागि अत्याधुनिक सुविधा सम्पन्न हल उपलब्ध हुनेछ । जुन व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि उपयुक्त हुनेछ ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ५ किलोमिटर दूरीमा रहने छ। साथै प्रसिद्ध ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूपा तथा पशुपतिनाथ मन्दिरजस्ता सांस्कृतिक सम्पदास्थल नजिकै अवस्थित हुनेछ।
द वेस्टिन काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा अवस्थित द वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम रुम तथा सुइट रहने छन् । होटलमा तीन वटा डाइनिङ् स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रूफटप स्विमिङ पुल तथा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा रहने छ । यो होटल पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रममार्फत यात्राको थकान कम गर्ने उद्देश्यका साथ निर्माण हुनेछ ।
यी दुई होटलसम्बन्धी सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो महत्वपूर्ण कदम हो । दुई वर्षभन्दा कम अवधिको सहकार्यमा भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने ४३ शहरमा ५० होटल सञ्चालनमा आइसकेका छन् ।
सीजी हस्पिटालिटीसँग भारतकै सबैभन्दा ठूलो होटल व्यवस्थापन कम्पनीमध्ये एक कन्सेप्ट हस्पिटालिटीर फर्न होटल पनि रहेको छ ।
भारतबाहिर सीजी हस्पिटालिटीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याएको छ, जसले उक्त देशमा अटोग्राफ कलेक्सन ब्रान्डको पहिलो प्रवेश गराएको हो । त्यसैगरी, सीजी डेभलपर्सले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स तथा भारतको सिलिगुडी मातिगरामा जेडब्लु म्यारियट होटलको घोषणा गरेको छ ।
यससँगै म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीले ‘सिरिज बाई म्यारियट’ ब्रान्डमार्फत अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेका छन्। यी उपलब्धिहरूले दुई कम्पनीबीचको प्रगाढ सम्बन्ध र दुवै कम्पनीले विश्वभरका उच्च सम्भावना भएका बजारहरूमा विस्तारका अवसरहरू खोजिरहेको संकेत गर्दछ।
म्यारियट इन्टरनेसनल
म्यारियट इन्टरनेशनल इन्क अमेरिकाको मेरील्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो। सन् २०२६ मार्च ३१ सम्म कम्पनीका १४६ देश तथा क्षेत्रहरूमा ९,९०० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्।
कम्पनीले लक्जरी, प्रिमियम, मिडस्केल, एक्सटेन्डेड स्टे तथा अल–इन्क्लुसिभ श्रेणीका होटल, रेसिडेन्स, टाइमसेयर, याट तथा अन्य आवास सेवाहरू सञ्चालन तथा लाइसेन्स प्रदान गर्दै आएको छ। म्यारियटले आफ्नो बहुप्रशंसित ट्राभल प्लेटफर्म ‘म्यारियट बोनभोय®’ समेत सञ्चालन गर्दै आएको छ।
सीजी हस्पिटालिटी
चौधरी ग्रुपअन्तर्गतको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटीसँग १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३,८३५ भन्दा बढी ‘की’ रहेको विविध पोर्टफोलियो छ।
सीजी हस्पिटालिटीले विश्वप्रसिद्ध हस्पिटालिटी ब्रान्डहरू जस्तै आईएचसीएल (टाटा इन्टरप्राइज) अन्तर्गतका ताज, ताज सफारी तथा भिभान्ता, जेटविङ, डबल ट्री बाइ हिल्टन तथा फेयरमन्टसँग साझेदारी गर्दै आएको छ। सन् २०३० सम्म यो पोर्टफोलियो ६०० भन्दा बढी होटल तथा ३० हजार ‘की’सम्म पुग्ने अपेक्षा गरिएको छ।
सीजी हस्पिटालिटीको पोर्टफोलियोमा माल्दिभ्सको ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा, श्रीलंकाको जेटविङ विल उयाना तथा ताज समुद्र, फिलिपिन्सको द फार्म एट सान बेनिटो, नेपालको मेघौली सेराइ-अ ताज सफारिज लज, दुबईको ताज जुमेराह लेक्स टावर्स तथा केन्याको फेयरमन्ट द नोरफोक र फेयरमन्ट मारा सफारी क्लब, न्यूयोर्कको डबल ट्री बाई हिल्टन जेएफके एयरपोर्ट लगायतका विश्वप्रसिद्ध प्रपटिहरू समावेश छन्।
सीजी हस्पिटालिटीसँग भारतकै सबैभन्दा ठूलो होटल व्यवस्थापन कम्पनीमध्ये एक कन्सेप्ट हस्पिटालिटीर फर्न होटल पनि रहेको छ। जसले १५० भन्दा बढी मिड-मार्केटदेखि लक्जरी होटलहरू आफ्नै ब्राण्ड द फर्न सिरिज बाइ म्यारियट मार्फत व्यवस्थापन गर्दै आएको छ। यो पोर्टफोलियो सन् २०३१ सम्म ५०० होटलसम्म पुग्ने लक्ष्य राखिएको छ।









प्रतिक्रिया