
काठमाडौं । शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न’ भन्दै आफ्नो निजी फेसबूक प्रोफाइलबाट स्टाटस लेखेका छन् । फेसबूक प्रयोगकर्ताहरूले उनको यो स्टाटसलाई लिएर विभिन्न अड्कलबाजी गरिरहेका छन् ।
प्रधानमन्त्री बालेनको व्यक्तिगत फेसबूक प्रोफाइलबाट ‘रोमनाइज्ड’ नेपाली भाषामा आएको यो स्टाटस उनै सचिव पुष्करको घटनाप्रति लक्षित भएको धेरैको अनुमान छ ।
बालेन शाह नामको फेसबूक प्रोफाइलमा शनिबार राति १०: १५ बजे पोस्ट भएको यो स्टाटसमा आइतबार बिहानसम्म ५७ हजार जनाले लाइक गरेका छन् भने १३ हजार बढी प्रतिक्रिया आएको छ । स्टाटसमा १ हजार भन्दा बढीले स्टाटस सेयर गरेका छन् ।
उनको यो स्टाटसमा शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेल लगायतले प्रतिक्रिया दिएका छन् ।

गत बिहीबार मात्रै उपराष्ट्रपतिका कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जान लागेकाले राजदूत पदमा नियुक्त हुन प्रधानमन्त्रीको साथ मागेका थिए । त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार करिब ७ घन्टा नियन्त्रणमा लिएको थियो ।
प्रधानमन्त्रीलाई सिधै म्यासेज पठाएर राजनीतिक नियुक्ति माग गरेको भन्दै प्रहरीले सचिव पुष्करलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
सरकारले हालै राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको सन्दर्भमा आफूले पनि आवेदन दिएको जानकारी गराउँदै उनले प्रधानमन्त्रीसँग ‘सहयोग’को अपेक्षा गरेका हुन् । सन्देशमा उनले अगाडि लेखेका छन्, ‘राजदूत पदका लागि विज्ञापन हेरें र मैले पनि आवेदन पेश गरें, हजुर । यस सन्दर्भमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।’
कुनै समय अर्थ मन्त्रालय जस्तो शक्तिशाली निकाय सम्हालेका सचिव पुष्करले सन्देशको अन्त्यमा ‘अगाडि हजुरको जो आदेश’ भन्दै आफूलाई आज्ञाकारी कर्मचारीको रूपमा प्रस्तुत गरेका छन् ।









प्रतिक्रिया