चिनियाँ आक्रमण रोक्नका लागि एन्टी–शिप क्षेप्यास्त्रको जोहो गर्दै ताइवान, पर्कुपाइन रणनीतिमा जोड

49
Shares

एजेन्सी । ताइवानले चीनको बढ्दो सैन्य खतरा र सम्भावित घेराबन्दीको प्रभावकारी सामना गर्न आफ्नो पानीजहाज विरोधी क्षेप्यास्त्र (एन्टी–शिप मिसाइल) को भण्डारमा व्यापक वृद्धि गर्ने योजना बनाएको छ ।

रोयटर्सको पछिल्लो गणनाअनुसार, ताइवानले सन् २०२९ को सुरुवातसम्म यस्ता शक्तिशाली मिसाइलहरूको संख्या १८ सयभन्दा बढी पुर्याउने लक्ष्य राखेको छ ।

हवाईजहाज, युद्धपोत र जमिनमा आधारित मोबाइल लोन्चरहरूबाट प्रहार गर्न सकिने यी हतियारहरू ताइवानको एसिमेट्रिक (असमान) सैन्य रणनीतिको मुख्य हिस्सा हुन् । यस रणनीतिमार्फत ताइवानले चिनियाँ सेनाको विशाल गोलाबारी र शक्तिको बदलामा ठूलो संख्यामा सस्तो तर घातक र सटीक निशाना लगाउने हतियार प्रयोग गरेर सन्तुलन कायम गर्न खोजेको छ ।

यसमा लामो दूरीका मिसाइलका साथै ड्रोनहरूको ठूलो समूह पनि सामेल हुने सैन्य अधिकारीहरू बताउँछन् ।

ताइवानका सैन्य अधिकारीहरूका अनुसार, उनीहरूको मुख्य उद्देश्य एक यस्तो प्रतिरोधी फौज निर्माण गर्नु हो जसले चीनको सुरुवाती हवाई र मिसाइल आक्रमणलाई झेलेर पनि सुरक्षित रहोस् र जवाफी हमलामा चिनियाँ आक्रमणकारी बेडाहरूलाई ध्वस्त पार्न सकोस् ।

यसका लागि ताइवानले युक्रेन र इरानको पछिल्लो सैन्य अनुभवबाट ठूलो पाठ सिकेको छ । युक्रेनले रुस जस्तो शक्तिशाली मुलुकलाई कृष्ण सागरमा मिसाइल र ड्रोनको सहायताले दिएको चुनौती र अमेरिकी तथा इजरायली हवाई आक्रमणका बावजुद इरानले हर्मुज जलयोजकमा आफ्नो सैन्य सक्रियता कायमै राख्न सकेको उदाहरणले ताइवानलाई आफ्नो रणनीतिमा थप विश्वस्त बनाएको छ । ताइवानले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गर्दै अमेरिकी प्रविधि र स्वदेशी उत्पादन दुवैलाई तीव्रता दिएको छ ।

ताइवानको यस मिसाइल भण्डारमा मुख्यतया अमेरिकाले आपूर्ति गरेका हार्पुन र ताइवानले स्वदेशमै विकास गरेका स्युङ फङ मिसाइलहरू रहेका छन् । ताइवानको रक्षा अनुसन्धान केन्द्रका उपप्रमुख ओउ सीफुका अनुसार, यो विशाल हतियार भण्डारले ताइवान जलयोजकमा एउटा यस्तो किल जोन सिर्जना गर्नेछ जहाँ चिनियाँ सेनाले प्रवेश गर्दा अपूरणीय क्षति बेहोर्नुपर्नेछ ।

ओउका अनुसार, ताइवानको लक्ष्य चिनियाँ सेनाको हरेक पानीजहाज नष्ट गर्नु नभई उनीहरूलाई ताइवानको भूमिमा अवतरण गर्नबाट रोक्नु र उनीहरूको मुख्य सैन्य मिसनलाई असफल बनाउनु हो ।

रक्षा विज्ञहरूका अनुसार, चिनियाँ जहाजहरू ताइवानको तटमा आइपुग्नु अघि नै बीच बाटोमा ध्वस्त पार्न सक्ने क्षमता नै ताइवानका लागि सबैभन्दा ठूलो सुरक्षाकवच हुनेछ ।

ताइवानको विपक्षी नियन्त्रित संसद्ले गत महिना अमेरिकी हतियार खरिदका लागि थप २५ अर्ब डलरको रक्षा बजेट स्वीकृत गरेको छ जसले चिनियाँ तटमा रहेका सैन्य अखडाहरूसम्म प्रहार गर्न सक्ने लामो दूरीका मिसाइलहरूको बाटो खोलेको छ ।

तर, ताइवानको सामु एउटा ठूलो चुनौती के छ भने उसका धेरैजसो मिसाइलहरू हाल पानीजहाज र स्थिर सैन्य अखडाहरूमा तैनाथ छन् जसले गर्दा चिनियाँ सेनाको सुरुवाती प्रहारमा ती नष्ट हुने जोखिम रहन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै ताइवानले आफ्नो मिसाइल प्रणालीलाई जमिनमा आधारित मोबाइल लन्चर (सजिलै सार्न सकिने ट्रकहरू) मा स्थानान्तरण गरिरहेको छ ताकि तिनीहरूलाई छरिएर राख्न र लुकाउन सकियोस् । ताइवानको रक्षा मन्त्रालयले पनि युद्धको समयमा हतियारको बाँकी रहने क्षमता बढाउन र शत्रुको नजरबाट बच्न मोबाइल प्रणालीमा जोड दिइरहेको बताएको छ ।

ताइवानले आफ्नो रक्षा क्षमता अझ बढाउन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग थप १४ अर्ब डलर बराबरको हतियार खरिद सम्झौताका लागि अनुमति मागिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङले ताइवानको मुद्दामा गलत कदम चालेमा दुई महाशक्ति राष्ट्रबीच ठूलो द्वन्द्व हुन सक्ने चेतावनी ट्रम्पलाई दिइसकेका छन् ।

यसैबीच ताइवानले जुलाई १ देखि नयाँ लिटोरल कम्ब्याट कमान्ड स्थापना गर्दैछ जसले तटीय रेडार, मिसाइल र ड्रोनहरूलाई एउटै कमान्ड अन्तर्गत एकीकृत गर्नेछ । ताइवानका सैन्य रणनीतिकारहरूको एउटै लक्ष्य छ— चिनियाँ आक्रमणलाई यति लामो समयसम्म रोकेर राख्ने कि सहयोगी राष्ट्रहरू ताइवानको सहायताका लागि आइपुग्ने पर्याप्त समय पाओस् ।

ताइवानले आफूलाई यस्तो पोर्कुपाइन (दुम्सी) को रूपमा तयार गर्दैछ जसलाई निल्न खोज्दा चीनले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।