
एजेन्सी । मेटालाई एआई स्टार्टअप मानुसको अधिग्रहण खारेज गर्न आदेश दिएको एक महिनापछि सोमबार चीनले चिनियाँ लगानीकर्ता, प्रविधि, डेटा र राष्ट्रिय सुरक्षा समावेश हुने वैदेशिक सम्झौताहरूमा नियन्त्रण कडा पार्ने गरी व्यापक नयाँ नियमहरू जारी गरेको छ ।
मन्त्रिपरिषद् द्वारा प्रकाशित यी नियमहरूले ताइवानलगायत मुख्यभूमि चीन बाहिरका बजारहरूमा हुने सम्झौताहरूलाई प्रभाव पार्न खोज्छन् र चिनियाँ लगानीमा प्रतिबन्ध लगाउने देशका विदेशी कम्पनीहरूलाई सजाय दिने अधिकार बेइजिङलाई प्रदान गर्छन् ।
जुलाई १ देखि लागू हुने यो ढाँचाले चीनलाई सम्पन्न भइसकेका वैदेशिक कारोबारहरू समेत खारेज गर्न बाध्य पार्ने व्यापक र औपचारिक कानुनी आधार प्रदान गर्छ जसले चिनियाँ प्रविधि र एआई जस्ता संवेदनशील क्षेत्रहरूमा विश्वव्यापी लगानीकर्ताहरूका लागि कानुनी पालनाको जोखिम बढाएको छ ।
चिनियाँ अधिकारीहरूले यसअघि मेटा–मानुस सम्झौताले स्पष्ट नगरिएका विदेशी लगानी कानुनहरूको उल्लंघन गरेको बताएका थिए जसलाई विश्लेषकहरूले बेइजिङको स्वीकृतिबिना स्वदेशी कम्पनीहरूले विदेशी लगानीकर्ताहरूलाई सेयर हस्तान्तरण गर्न निरुत्साहित गरेको रूपमा लिएका छन् ।
बेइजिङले एआईलाई राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण र संवेदनशील क्षेत्रको रूपमा हेर्छ र प्रविधि, बौद्धिक सम्पत्ति एवं प्रतिभाको बाह्य प्रवाहलाई नियन्त्रण गर्न प्रयास गरिरहेको छ ।
अमेरिकी परामर्शदाता कम्पनी दी एसिया ग्रुपका चीन कन्ट्री डाइरेक्टर हान शेन लिनले नयाँ नियमहरू मुख्यतया चिनियाँ कम्पनीहरूलाई रणनीतिक सम्पत्ति विदेशी पक्षहरूलाई बिक्री गर्नबाट रोक्नका लागि बनाइएको, उनीहरूलाई सुरुमै खरिद गर्नबाट रोक्नका लागि हैन भनेका छन् ।
‘वास्तविक कुरा त के हो भने यसले चिनियाँ पुँजीको वैदेशिक लगानी स्क्रिनिङमा सहभागी हुने अमेरिकी निकायहरू विरुद्ध पूर्ण प्रतिशोधात्मक संयन्त्रलाई कानुनी रूप दिन्छ ।’
सबैभन्दा महत्त्वपूर्ण बुँदाहरूमध्ये एकले प्रतिबन्धित चिनियाँ सामान, प्रविधि, सेवा वा सम्बन्धित डाटाको निर्यातका लागि अनुमति अनिवार्य गरेको छ ।
लिनका अनुसार, यी नियमहरूले विगतमा विभिन्न चिनियाँ मन्त्रालयहरूले जारी गरेका विद्यमान नियामक ढाँचाहरूलाई प्रतिबिम्बित र एकीकृत गर्छन् ।
नयाँ ढाँचाले विशेषगरी संवेदनशील क्षेत्रहरूमा स्वीकृतिबिना सीमापार प्रतिभा हस्तान्तरण गर्न प्रतिबन्ध लगाएको छ । मेटाले अधिग्रहण गर्नुअघि मानुसले आफ्ना कर्मचारी र अपरेशनहरू सिंगापुरमा सारेको जस्ता कदमहरूलाई यसले लक्षित गरेको छ । यसलाई सामान्यतया सिंगापुर–वाशिङ भनिन्छ ।
यी नियमहरूले बढी तरल विदेशी पुँजी बजारमा लगानी आकर्षित गर्न र तीव्र आन्तरिक प्रतिस्पर्धाबाट बच्नका लागि आफ्नो पुँजी र सञ्चालन विदेश सार्न चाहने चिनियाँ कम्पनीहरूलाई प्रभावित गर्न सक्छ ।
लगानीकर्ताहरूले प्राविधिक कर्मचारीहरूलाई सीमापार पठाएर, अन्य देशहरूमा काम गर्न कर्मचारीहरू परिचालन गरेर, सीमापार प्राविधिक मार्गदर्शन प्रदान गरेर वा सीमापार तालिमको व्यवस्था गरेर… निर्यातमा प्रतिबन्ध लगाइएका सामान, प्रविधि, सेवा र सम्बन्धित डेटा हस्तान्तरण गर्नु हुँदैन ।
यसले राज्य परिषद्लाई राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने वैदेशिक लगानी वा सम्पत्ति हस्तान्तरणको सुरक्षा समीक्षा गर्ने, लगानीकर्ताहरूलाई सेयर बिक्री गर्न वा लगानी बन्द गर्न आदेश दिने र पालना नगर्ने व्यक्तिगत लगानीकर्ताहरूमाथि जरिवाना लगाउने अधिकार पनि दिन्छ ।
सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा कानुनका प्राध्यापक हेनरी गाओले एक्समा लेखेका छन्, ‘चिनियाँ लगानीकर्ताहरूका लागि राज्यको निगरानीबिना स्वतन्त्र रूपमा विदेशमा लगानी गर्न झन् झन् गाह्रो हुँदै गइरहेको छ ।’
‘यस कदमले बेइजिङमा पुँजीको बाह्य प्रवाह र चीनको विदेशी विनिमय सञ्चितिमा परेको दबाबप्रति बढ्दो चिन्तालाई पनि संकेत गर्छ ।’
सोमबारका नियमहरूले बेइजिङलाई विदेशी संस्थाहरूलाई चीनसँग व्यापार गर्न वा लगानी गर्न प्रतिबन्ध लगाउने र उनीहरूको देशले चिनियाँ लगानीमा प्रतिबन्ध लगाएमा ती विदेशी कर्मचारीहरूको चीन कार्य भिसा वा प्रवेश भिसा समेत रद्द गर्ने अधिकार दिएको छ ।
उदाहरणका लागि, अमेरिकी सरकारले कुनै चिनियाँ प्रविधि कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्छ भने बेइजिङले कुनै अमेरिकी फर्मको चिनियाँ सम्बन्धित संस्थाको असम्बद्ध अधिग्रहणलाई रोकेर बदला लिन सक्छ ।
नियमहरूले राष्ट्रिय सुरक्षाका कारण कुन प्रकारका सम्झौता वा सम्पत्ति हस्तान्तरणमा प्रतिबन्ध लगाइनेछ भन्ने कुरा स्पष्ट पारेको छैन र यो हङकङ, मकाउ तथा ताइवानमा गरिने लगानीमा पनि लागू हुन्छ ।
अमेरिकासँगको भूराजनीतिक प्रतिद्वन्द्विताका कारण हालैका वर्षहरूमा धेरै चिनियाँ टेक कम्पनीहरूले हङकङमा सूचीकृत हुने विकल्प रोजेका छन् जबकि ताइवान एक लोकतान्त्रिक रूपमा शासित टापु हो जसलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्छ ।
लिनले थपे, ‘यस ढाँचा अन्तर्गत उनीहरूलाई स्पष्ट रूपमा समावेश गर्नु एक शान्त तर महत्त्वपूर्ण सार्वभौमिकताको संकेत हो ।’
यी नयाँ नियमहरू अप्रिलमा राज्य परिषदद्वारा प्रकाशित दुई नयाँ आपूर्ति श्रृंखला सुरक्षा डिक्रीहरू पछि आएका हुन् जसले बेइजिङलाई चीनविरुद्ध विदेशी प्रतिबन्धहरू लागू गर्न संलग्न विदेशी कम्पनीका कर्मचारीहरूमाथि देश छोड्न प्रतिबन्ध लगाउने अधिकार प्रदान गर्छ ।
चीनको संसदमा बहस हुने नयाँ कानूनहरू जस्तो नभई, ती उपायहरू कुनै चेतावनीबिना ल्याइएका थिए र तुरुन्तै लागू भए । त्यसले चीनमा रहेका विदेशी व्यापार समुदायमा चिन्ता पैदा गरेको छ ।
चीनले पश्चिमी प्रतिबन्धहरूको सामना गर्न, विश्वव्यापी आपूर्ति श्रृंखलामा आफ्नो वर्चस्व कायम राख्न र प्रविधि जस्ता संवेदनशील क्षेत्र र महत्त्वपूर्ण वस्तुहरूमा आन्तरिक आत्मनिर्भरता बढाउन आफ्नो निर्यात नियन्त्रण सम्बन्धी कानुनी संयन्त्र निर्माण गरिरहेको विश्लेषकहरू बताउँछन् ।
चीनले गत साता सीमापार लगानीमाथि ठूलो कडाइ गर्ने घोषणा गर्दै विदेशी बजारमा अवैध रूपमा पैसा सारेको आरोपमा तीनवटा अनलाइन ब्रोकरहरूलाई सजाय दिने बताएको थियो ।





प्रतिक्रिया