
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढ्यो । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सुनको मूल्य उच्च दरमा वृद्धि भएको हो।
आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार साढे २० हजारले बढेको हो ।
बजेटले भन्सार दर १० प्रतिशतले बढाएपछि सुनको मूल्य ह्वात्तै बढेको व्यवसायी बताउँछन् । यसअघि १० प्रतिशत लाग्ने भन्सार दरलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले २० प्रतिशत बनाएसँगै सुनको स्थानीय मूल्यमा वृद्धि भएको हो । वाग्लेले यसअघि लाग्ने विलाशिता कर हटाएर ०.५ प्रतिशत सिप प्रवद्र्धन शुल्क लगाएका छन् ।
आर्थिक विधेयकको अनुसुची ६ मा सुन र सुनका गरगहना तथा चाँदी र चाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवर्धन शुल्क लगाउने उल्लेख छ ।
‘नेपालमा उपभोग हुने सुन वा सुनका गरगहना तथा चाँदी वा चाँदीका गरगहनामा अन्तिम उपभोक्तालाई विक्री गर्दाको विक्री मूल्यमा र शून्य दशमलव पाँच प्रतिशतका दरले सिप प्रवद्र्धन शुल्क लगाई असुल गरिनेछ,’ आर्थिक विधेयक २०८३ को अनुसुची ६ मा भनिएको छ ।
सुन चाँदी व्यवसायीले भन्सार दरमा भएको वृद्धिको असर सुनको मूल्यमा परेको बताउँछन् ।
‘अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य बढ्दा केही त्यसले पनि प्रभाव पार्यो,’ एक व्यवसायीले भने, ‘मुख्य गरि बजेटमा १० प्रतिशत भन्सार दर बढाउने घोषणाको प्रभाव आजको मूल्यमा देखिएको हो ।’
आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीमा पनि सरकारले थप १० प्रतिशत भन्सार दर लगाएको छ।
यस दिन चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको थियो ।





प्रतिक्रिया